अपर अरुण आयोजनाले प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा वितरण गर्न सुरु गरेको छ।
आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोलाका आयोजना प्रभावित स्थानीयलाई मुआब्जा वितरण गर्न सुरु गरेको हो। अप्पर अरुण आयोजनाका लागि भोटखोलामा दुई हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ। एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अप्पर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माणकार्य अघि बढाएको छ। आयोजनाले प्रभावित क्षेत्रका तीन सय ३५ घरपरिवारलाई मुआब्जा वितरण गर्न सुरु गरेको अप्पर अरुण आयोजनाका वरिष्ठ साहयक गृष्म भण्डारीले जानकारी दिए। हालसम्म भोटखोला –२ हटियाका १५ घरपरिवारलाई करिव साढे ४ करोड रुपैयाँ मुआब्जा वितरण गरि सकिएको अरुण आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए।
अन्य १५ घरपरिवारका लागि ६ करोड रुपैयाँ बढी बैंक खातामा पठाइ सकिएको अप्पर अरुण आयोजनाका वरिष्ठ साहयक भण्डारीले बताए। अप्पर अरुण आयोजनामा बाट प्रभावित तीन सय ३५ घरपरिवारले मुआब्जा पाउने छन्। उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी १५ लाख मुआब्जा निर्धारण गरिएको छ। कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी १० लाख निर्धारण गरिएको छ। जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो। त्यस्तै हटिया ८, ९ र चेपुवा १ को अलैँची बालीसहितको जग्गा प्रतिरोपनी नौ लाख ५० हजार र चेपुवा १, हटिया ८ र ९, पावाखोला ३ का अलैँची बाली नभएको पाखा बारीको प्रतिरोपनी सात लाख कायम गरिएको थियो।
आयोजना निर्माणको कार्य दुई वर्ष पछिदेखि सुरु हुने भएको छ। आयोजनाको सम्पूर्ण संरचना भोटखोलाको वडा नं २ र ४ मा हुनेछ। सरकारको स्वामित्व रहेको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले उक्त जलविद्युत् आयोजना बनाउन लागेको हो। हाइड्रोपावर निर्माण सुरु भएको छ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ। आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ। आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले करिब ६८ प्रतिशत लगानी गर्ने बताइएको छ। जलविद्युत् आयोजनाको अनुमानित लागत दुई खर्बभन्दा बढि छ। सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ।































प्रतिक्रिया