उत्तरगंगा खोलामा पुल निर्माणमा स्थानीयको अवरोध

उत्तरगंगा खोलामा पुल निर्माणमा स्थानीयको अवरोध

केन्द्रबिन्दु
0
Shares

सहिदमार्गअन्तर्गत रुकुम पूर्वको काँक्री–मैकोट सडक खण्डको उत्तरगंगा खोलामा निर्माण गर्ने भनिएको पुलको काममा स्थानीयले अवरोध गरेका छन् ।

निर्धारित ठाउँभन्दा ५ सय मिटरमाथि रहेको शेरागाउँ छोएर सडक जानुपर्ने र पुल पनि गाउँनजिकै बन्नुपर्ने माग राख्दै स्थानीयले काममा अवरोध गरेका हुन् । घोराहीबाट रोल्पा हुँदै रुकुम पूर्व जोड्ने २ सय २० किलोमिटर लामो सहिद मार्गअन्तर्गत पुथाउत्तरगंगा गाउँपालिका–११ को उत्तरगंगा खोलामा पुल बनाउन लागिएको हो । सहिदमार्ग सडक योजना प्रमुख पवन भट्टराईका अनुसार गत फागुनमा पुलको डिजाइन र निर्माणका लागि ठेक्का लागेको थियो । ठेक्का लागेको ६ महिनाभित्र डिजाइनको काम सक्ने र सातौं महिनादेखि निर्माणको काम सुरु गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर, ठेक्का लागेको १० महिनामा पनि हालसम्म सर्भेको काम मात्रै हुन सकेको छ भने माटो परीक्षण गरेर डिजाइन पास गराउन बाँकी रहेको प्रमुख भट्टराईले बताए । ‘जम्मा ३० महिनाको ठेक्का हो । १० महिना भइसक्यो,’ उनले भने, ‘यतिबेला निर्माणको काम धमाधम हुनुपर्नेमा स्थानीयको अवरोधका कारण काम अघि बढ्न सकेन ।’

पुल निर्माणका लागि मृत सञ्जीवनी निर्माण सेवाले ठेक्का पाएको छ । निर्माण व्यवसायी गौरी उप्रेतीले निर्माणका लागि आफू तयारी गरेर आएको एक वर्ष पुग्न लाग्दासमेत काम गर्न नपाउँदा समस्या भइरहेको गुनासो गरे । गत मंसिर २१ मा बृहत् छलफलका माध्यमबाट समस्या समाधान गर्ने सहमति गरेकामा पुनः समस्या बल्झिएकामा दुःख लागेको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताए । ‘स्थानीयको विरोधका कारण विकास निर्माणको काम रोकिनु दुर्भाग्य हो,’ उनले भने, ‘यसले स्थानीयलाई नै घाटा हुने हो ।’ गाउँदेखि तल पुल बन्दा शेरागाउँ छुट्ने भन्दै स्थानीय शायधन बुढाले आफूहरू यसको विरोधमा रहेको बताए । ‘हाम्रो गाउँ हुँदै सडक र पुल बन्नुपर्ने माग हो,’ उनले भने, ‘यसैका लागि एक महिनादेखि विरोधमा उत्रिएका छौं र माग पूरा नभएसम्म विरोध रहन्छ ।’

योजना प्रमुख भट्टराईले भने अहिले सडकको नापनक्सा परिवर्तन गर्न नसकिने बताए । ‘बरु शेरागाउँ हुँदै लिंकरोड बनाउन सकिन्छ,’ उनले भने, ‘आवश्यक परेमा अर्को पुल बनाउन सकिएला । अहिले आएर रुट परिवर्तन सम्भव छैन ।’

Skip This
Skip This
Logo