नेपालगन्जमा आइतबार खुकरी प्रहार गरी फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार दिउँसो २ बजेतिर नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित यूपी ३२ इयू ८६१६ नम्बरको भारतीय कारबाट आएका चार जनाले वडा नम्बर १२ का अनुराग शाह, जानकी गाउँपालिका–३ का उज्वल शाह र नेपालगन्ज–४ का सुभम जंग शाहलाई खुकुरी प्रहार गरी फरार भएका थिए। पक्राउ पर्नेहरुमा विनय भण्डारी, नारायण डाँगी, प्रकाश रासाइली र तासे भन्ने प्रकाश थापा रहेका छन्। खुकुरी प्रहार गरी फरार भएको भन्ने सूचनापछि तत्काल जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको नेतृत्वमा खटिएको टोलीले घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा पुर्याएको थियो।
खुकुरी प्रहार गरी फरार भएकाहरुलाई पछ्याउने क्रममा उनीहरुले प्रयोग गरेको गाडी बाँकेको डुढुवा गाउँपालिका–३ स्थित बनकट्टीबाट रामपुरुवा जाने बाटो दक्षिणतर्फ खेतमा फेला परेको थियो। प्रहरीले सोही गाडीमा रहेका नेपालगन्ज उपममहानगरपालिका–१८ का २९ वर्षीय विनय भण्डारी, वडा नम्बर ६ का ३१ वर्षीय प्रकाश थापा, राप्ती सोनारी गाउँपालिका–२ का ३१ वर्षीय नारायण डाँगी र वैजनाथ गाउँपालिका–५ का २९ वर्षीय प्रकाश रसाइली भन्ने तुल्सीराम सुनारलाई नियन्त्रणमा लिएको हो।
उनीहरुले प्रहार गरेको दुई थान कुखुरी नेपालगन्ज पमहानगरपालिका–५ फुल्टेक्राबाट बरामद गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।





























प्रतिक्रिया