खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएकाे भन्दै काठमाडौं महानगर अगाडि बिरोध

खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएकाे भन्दै काठमाडौं महानगर अगाडि बिरोध

केन्द्रबिन्दु
0
Shares

खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अक्युपाई टुँडिखेल’ले बिरोध गरेको छ । 

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताहरुले सोमवार महानगरको निर्णयको बिरुद्धमा बिरोध गरेका हुन् । उनीहरुले महानगरपालिकाको केन्द्रिय कार्यालय बागदरबार अगाडि बिरोध प्रदर्शन गरेका छन् । अभियन्ताहरुले टुँडिखेल (खुलामञ्च) को ऐतिहासिक तथा पुरातात्विक महत्व  मासिने गरी पार्किङ बनाउन नहुने बताउँदै बिरोध गरेका थिए । 

स्थानीयवासी र संरक्षण अभियान्ताहरुले सोमवार बिरोध जनाउँदै महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोललाई ज्ञापनपत्रसमेत बुझाएका छन् । टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनुपर्ने उनीहरुको माग छ । उनीहरुले खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङको सोच नै गलत रहेको अभियन्ताहरुले बताउँदै आएका छन् । 

बिरोध कार्यक्रममा बोल्दै अक्युपाइ टुँडिखेल अभियानका प्रवक्ता सञ्जय अधिकारीले सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्ने अहिलेको आवश्यक्ता भएको बताए । उनले जनतादेखि जनप्रतिनिधिहरु सार्वजिनक जग्गा संरक्षणका लागि गम्भीर हुनुपर्ने आवश्यक्ता रहेको बताए । महानगरपालिकाको अहिले आएको युवा नेतृत्वले सार्वजनिक जग्गालाई सरकारी जग्गा बुझेर जनभावना विपरित काम गरिरहेको आरोप लगाए । 

त्यस्तै अभियानको कार्यक्रममा सहभागी बनेका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले काठमाडौं जस्तो ऐतिहासिक र सांस्कृतिक ठाउँमा जथाभावी संरचना बनाउन नमिल्ने बताए । उनले टुँडिखेलजस्तो ऐतिहासिक स्थानमा अण्डरग्राउण्ड पार्किङजस्ता कुनैपनि संरचना बनाउन दिनु नहुने बताए । पार्किङ चाहिएको भए भृकुटीमण्डपमा अण्डरग्राउण्ड पार्किङ बनाउन उनले सुझाव दिए ।  

गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निर्णय गरेको थियो । अहिले महानगरपालिकाको उक्त निर्णय विवादित बनेको छ ।

Skip This
Skip This
Logo