नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज बस्दै छ ।
आगामी केन्द्रीय कार्यसमिति बैठकका लागि रणनीति बनाउन नेता कोइरालाले आफ्नो समूहको बैठक बोलाएका हुन् । बैठक बिहीबार दिउँसो १ बजे बत्तिसपुतलीस्थित एक होटलमा बस्ने जनाइएको छ । बैठकमा पार्टीको संसदीय दलको निर्वाचन, निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने नेताहरुले बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस २८ गते बस्दै छ । पुस २२ गते बोलाइएको केन्द्रीय समिति बैठक प्रतिनिधिसभा बैठक बस्ने भएको र विश्वासको मतका विषयमा संसदीय दल बैठक बस्नुपर्ने भन्दै पुस २८ मा बैठक सारिएको हो । केन्द्रीय कार्यसमिति बैठक भन्दा अगाडि २३ गते शनिबार संसदीय दलको बैठक बोलाइएको छ ।
पार्टी नेतृत्वले समयमै सुझबुझ पुर्याउन नसक्दा सत्ताबाट बाहिरिनुपरेको भन्दै कांग्रेसमा तीव्र असन्तुष्टि बढेको छ । संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवालाई सत्ताबाट बाहिरिनुपरेको आरोप डा.शेखर कोइराला–गगन थापा समूहले लगाउँदै आएको छ । नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै इतर समूहका नेताहरु शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत बसेर छलफल गरेका थिए ।































प्रतिक्रिया