नेपाल समाजवादी पार्टीले माओवादीसँग एकताका लागि वार्ता समिति बनाउने

नेपाल समाजवादी पार्टीले माओवादीसँग एकताका लागि वार्ता समिति बनाउने

केन्द्रबिन्दु
0
Shares

नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ ।

नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पार्टी केन्द्रिय कार्यालयमा आईतवारदेखि शुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गरेका छन् । 

डा. भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको नेसपाका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाउने बताए । सो समितिलाई माओवादी केन्द्र लगायतका अन्य पार्टीहरुसँग पनि एकता तथा ध्रुवीकरण गर्नका लागि छलफल र प्रयास गर्न अधिकार दिइने उनले स्पष्ट पारे । 

उनले भने, ‘भोलिसम्म हामी एउटा निस्कर्षमा पुग्छौँ । समाजवादी ध्रुवीकरण भनेकै वास्तवमा यो अहिले पार्टी एकतासँग सम्बन्धित कुरा हो । हामी यो बैठकको अन्त्यसम्म पुग्दाखेरी मुख्यतः नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता सम्पन्न गर्नको लागि एउटा वार्ता समिति पनि बनाउँछौँ । त्यसले अरु अरु पार्टीहरु सँग पनि समाजवादी ध्रवीकरणको लागि आवश्यक छलफल, बहस र पहल/प्रयत्न गर्नका लागि एउटा अधिकारसहितको त्यो निर्णय गर्छौं ।’

अध्यक्ष भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनलाई पाँच खण्डमा विभाजन गरिएको छ । प्रारम्भ, पार्टी निर्माणका ७ वर्ष एक सिंहावलोकन, संघ र प्रदेशको निर्वाचन २०७९ संक्षिप्त समीक्षा, समाजवादी ध्रुवीकरण आजको आवश्यकता र आगामी कार्ययोजना गरी पाँच खण्डमा विभाजन गरिएको हो । आगामी कार्ययोजना अन्तर्गत राजनीतिक काम, संगठनात्मक काम, प्रचारप्रसारको काम र आन्दोलन तथा अभियानको कामको योजना प्रतिवेदनमा उल्लेख भएको छ । सह–अध्यक्ष श्रेष्ठले बैठक सोमवार(भोलि) सम्म चल्ने जानकारी दिए । 

Logo