पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर युवराज खतिवडाले बैंक तथा वित्तिय संस्थाले कर्जाको आकार भन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताएका छन् ।
आईतवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री खतिवडाले बैंकहरुले कर्जाको आकार बढाउँदा जोखिम आउनसक्ने भन्दै बैंक तथा वित्तिय संस्थाले कर्जाको आकार भन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताएका हुन् । उनले बैंकको पुँजीकरण वृद्धिको लाभ विद्युतीय क्षेत्रले लिएपनि कृषि क्षेत्रले लिन नसकेको बताए ।
खतिवडाले बैंक तथा वित्तिय क्षेत्रको कर्जा अर्थतन्त्रको आकार बराबर भएकोे भन्दै कर्जाको आकार बढ्दै जाँदा वित्तिय प्रणालीमा आर्थिक संकटको संकेत भएको उल्लेख गरे । उनले पछिल्लो समय देशको वित्तिय प्रणालीले ठूलो फड्को मारेको बताए ।
पूर्वअर्थमन्त्री खतिवडाले बैंकहरुमा राखेको निक्षेप डुब्दैन भन्ने विश्वास समेत बढेको बताए । उनले बैंकिङ पुँजीबजार लगायत सम्पूर्ण वित्तिय क्षेत्रमा सूचना प्रविधिको प्रयोग ह्वात्तै बढेको भन्दै लेजर खाता पल्टाएर भुक्तानी गर्ने केन्द्रिय बैंक इन्टरनेटमा कारोबार गर्ने भएको उल्लेख गरे । उनले राष्ट्र बैंकले प्रविधिमा आधारित भएर कारोबार गर्न सकेकाले मात्रै महाभूकम्प तथा कारोना महामारीको अवस्थामा तत्काल सरकारी कारोबार र बैंकिङ सेवा दिन सम्भव भएको दाबी गरे । पुँजीबजारमा प्रविधिको विकास र संरचनात्मक सुधार भएकाले ५५ लाख डिम्याट खाता पुगेको उनले बताए ।
उनले पछिल्लो एक दशकमा बैंक तथा वित्तिय संस्थाको पुँजीकोष ८ गुणाले बढेको उल्लेख गरे । उनले बैंकको पुँजी वृद्धिको कारण बैंकको सम्पती अधिक मात्रामा बढ्न गई दक्षिण एशियामा नेपालका बैंकको पुँजीकरण माथि पुगेको बताए ।
कुल गार्हस्थ्य उत्पादनको अनुपातमा गत वर्ष बैंकहरुको सम्पती १२३ प्रतिशत पुगेसँगै बैंकको कुल पुँजीकरणमा नेपाल विश्वमा अधिक पुँजीकरण हुने १४० देशमा २३ औं स्थानमा पुगेको बताए । बैंक तथा वित्तिय संस्था परिसंघले अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पु-याएको भन्दै खतिवडालाई सम्मान गरेको छ ।































प्रतिक्रिया