वागमतीको मुख्यमन्त्रीमा माओवादीका जम्कट्टेलले दाबी पेस गर्दै

वागमतीको मुख्यमन्त्रीमा माओवादीका जम्कट्टेलले दाबी पेस गर्दै

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र)का नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री बन्ने भएका छन् ।

जम्कट्टेलले सोमबार दिउँसो बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष बहुमत प्रदेश सभा सदस्यको समर्थनसहित दाबी पेस गर्ने गर्ने जनाइएको छ । केन्द्रमा गठबन्धन गरेका सत्तारुढ दल नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेताहरुको बैठकमा बागमती प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । बागमती प्रदेशमा माओवादी केन्द्रले पहिलो कार्यकाल सरकारको नेतृत्व गर्ने सहमतिअनुसार सरकारको नेतृत्व गर्दै दाबी पेश गर्ने भएको हो ।

११० प्रदेश सभा सदस्य रहेको यस प्रदेशमा सरकार गठनका लागि बहुमत पुग्न ५६ जना प्रदेश सभा सदस्य आवश्यक हुन्छ । तर प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातै दलको स्पष्ट बहुमत नभएकोले दुई वा दुईभन्दा बढीको समर्थनमा सरकार बनाउनुपर्ने बाध्यता छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकोले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न सोमबार दिउँसो ४ बजेसम्मका लागि समय दिएका छन् । उक्त समय सीमाभित्रै केन्द्रमा भएको सहमति अनुसार दलहरुको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गर्ने माओवादी केन्द्रका प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिए ।

प्रदेश सभा निर्वाचन घोषणा भएको मितिले ३० दिनभित्र सरकार गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) मा अनुसार पाँच दिनको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न गत बिहीबार आह्वान गरेका थिए ।

माओवादी केन्द्रका नेता एवं प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले मुख्यमन्त्रीमा दाबीका लागि प्रदेश सभा सदस्यहरुको हस्ताक्षर भइरहेको र दाबी गर्नु पूर्व बैठक बसेर जाने बताउँदै दिउँसो १ बजे दाबी पेस गर्न जाने तयारीमा रहेको बताए । माओवादी केन्द्रको धादिङ जिल्लाका इञ्चार्जसमेत रहेका जम्कट्टेल गत मङ्सिर ४ मा भएको प्रदेश सभा सदस्य निर्वाचनमा धादिङको क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।  

Skip This
Skip This
Logo