ग्लोवल आइएमई राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक हो -अध्यक्ष ढकाल

ग्लोवल आइएमई राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक हो -अध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोवल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक भएको बताएका छन् । 

सोमवार ग्लोवल आईएमइ बैंकले बैंक अफ काठमाण्डूसँगको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि मर्जरको नीतिलाई कार्यान्वयनमा ल्याउने ग्लोवल आईएमई बैंक मर्जर नीतिको लिडर बैंक भएको दाबी गरे । उनले नेपाली बैंकिङ क्षेत्रका लागि आजको दिन ऐतिहासिक दिन भएको बताए । ग्लोवल आईएमई र बैंक अफ काठमाण्डुबीच मर्जरले बैंकको अधिकांश वित्तीय सूचकहरुमा ग्लोवल आईएमई बैंक नेपालको पहिलो बैंकको रुपमा स्थापित भएको उनले बताए । 

अध्यक्ष ढकालले बैंक अफ काठमाण्डुसँगको मर्जर समेत गरेर ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी गरेर कुल २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मिलेर ग्लोवल आईएमई बैंक २१ वटा बैंक तथा वित्तीय संस्थाको एकीकृत कारोबार गर्न सफल भएको बताए । उनले बैंकले दुई प्लस दुई चार नभई ५ को लक्ष्यसहित मर्जरमा गएकाले सफल भएको बताए । नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउँदै ग्लोवल आईएमई बैंकले मर्जरमा प्राप्त गरेको सफलताले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरको लागि प्रोत्साहन गरेको बताए । 
 
अध्यक्ष ढकालले ग्लोवल आईएमई बैंक कुल पुँजी,निक्षेप,कर्जा शाखा सञ्जालका आधारमा देशकै ठूलो बैंक भएको बताए । उनले बैंक आकार र पुँजीका आधारमा ठूलो हुनु मात्रै सफलता नभएको भन्दै आकारको यो वृद्धिले मुलुकको वित्तिय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सक्नुपर्ने बताए । 

उनले मुलुकका सबै क्षेत्रका नागरिकलाई सानोदेखि ठूलोसम्म वित्तीय सेवा पु-याउने बैंकका रुपमा अघि बढीरहेकाको बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको बताए । उनले मर्जरपछि कुल पुँजीकोष ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १० अर्ब, कुल कर्जा ४ खर्ब, कुल सम्पती ५ खर्ब, शाखा सञ्जाल १ हजार १ सय र सेवा प्रवाह भएको जिल्लाहरु ७७ रहेको बताए । ३ वटा वैदेशिक सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढी ग्राहकहरु र ४ हजार बढी कर्मचारीहरु रहेको पनि उनले बताए । उनले बैंकले राष्ट्र बैंकबाट अनुमति लिएर दक्षिण कोरियामा नेपालको पहिलो वैदेशिक शाखा सञ्चालन अन्तिम तयारीमा रहेको बताए । 
 
ग्लोवल आईएमई बैंक नेपालको बैंकिङ क्षेत्रमा कुल बजार हिस्सा नै करिव १० प्रतिशत ओगट्ने बैंक बनेको अध्यक्ष ढकालले बताए । उनले बैंक ठूलो भएर जोखिम बहन गर्नसक्ने क्षमतामा वृद्धि भएसँगै ठूला परियोजनामा लगानी जुटाउन धेरै बैंक सहभागी हुनुपर्ने कठिनाइलाई यो मर्जरले सहजीकरण गर्ने विश्वास लिएको बताए । उनले खाडीमा रहेका नेपालीहरुले दुःख गरेर कमाएको रेमिट्यान्स घर–घरमा पु-याउन सेवा शुरु गरेको आइएमईको यात्रा आज आईएमई फाइनान्स हुँदै आज नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंकको रुपमा स्थापित भएको बताए । 
 
उनले पेसा र व्यवसायीको सफलताको सूत्र इमान्दारिता भएको भन्दै आईएमई तत्कालीन समयमा राज्यको आवश्यकता र प्राथमिकता रहेको बताए । उनले आईएमई समूह वित्तीय क्षेत्र मात्रै नभएर राज्यको प्राथमिकतामा रहेको सूचना प्रविधिका साथै पर्यटन पूर्वाधारमा पनि केन्द्रित रहेको बताए ।  

Skip This
Skip This
Logo