सरकारलाई विश्वासको मत दिनेबारे काँग्रेस विभाजितः के भन्छन् नेताहरू ?

सरकारलाई विश्वासको मत दिनेबारे काँग्रेस विभाजितः के भन्छन् नेताहरू ?

केन्द्रबिन्दु
0
Shares

सरकारलाई विश्वासको मत दिने विषयमा नेपाली काँग्रेसका सांसदहरुबीच मत बाँझिएको छ । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनुपर्ने प्रस्ताव आईरहँदा सांसदहरुले भने त्यसको पक्ष र विपक्षमा आफ्ना धारणा राखिरहेका हुन् । 

पार्टी संसदीय दलको बैठक बस्नु अघि मंगलबार संघीय संसद भवन परिसरमा पुगेका नेपाली काँग्रेसका सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले स्थानीय तहमा पनि सहकार्य गरेकाले माओवादी नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिँदा फरक नपर्ने बताए । उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै स्थानीय तहमा सहकार्य गरेर आएको माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेर जान समस्या नहुने स्पष्ट पारे । 

सांसद बस्नेतले भने, ‘एमाले माओवादी पहिले मिलेर केही समय लडाईमा रहेका दलहरु मिलेर सरकार बनाएको यो अवस्थामा काँग्रेसले समर्थन जनाएछ भने विश्वासको मत दिएछ भने पनि आश्चर्य मान्नुपर्ने छैन । होइन अव ठूलो दलको हैसियतले लोकतान्त्रिक व्यवस्थामा प्रमुख प्रतिपक्षको भूमिका धेरै महत्वपूर्ण हुन्छ । बलियो प्रतिपक्ष भएन भने राम्रो पनि हुँदैन । त्यसकारण प्रतिपक्षमा बसेछ भन्ने पनि आश्चर्य मान्नुपर्ने अवस्था छैन । स्थानीय तहमा सहकार्य गरेकाले सरकारलाई समर्थन जनाउन त्यत्रो ठूलो समस्या छ जस्तो मलाई लाग्दैन ।’

अर्का सांसद रामहरि खतिवडाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी नेतृत्वको गठबन्धनलाई धोका दिएकाले सरकारलाई विश्वासको मत दिन नहुने तर्क गरे । उनले प्रतिपक्षमै बसेर काँग्रेसले काम गर्दा उपयुक्त हुने दावी समेत गरे । 

‘हामीलाई हिजो धोका दिएकै हो । हामीले अहिले पनि धोका दिएका छैनौं । हामी सहमतीको राजनीतिमा सबैलाई लिएर जान तयार छौं ।’ सांसद खतिवडाले भने, ‘तर सधैं धोकाको राजनीतिमा विश्वास गरेर हुँदैन । अहिले हामीले प्रमुख प्रतिपक्षकै रुपमा काम गर्नु पर्छ भन्ने मलाई लाग्दछ ।’

काँग्रेसका लागि सरकारलाई समर्थन गर्न पनि सकिने र प्रतिपक्षमै बसेर अघि बढने दुवै सम्भावना रहेकाले त्यसबारे गम्भिर छलफल गरेर निष्कर्षमा पुग्ने सांसद श्याम घिमिरेको मत छ । उनले विपक्षमै बसेर अघि बढ्दा स्थानीय तहको गठबन्धन भत्किएर जाने भएकाले त्यसमा पनि पार्टीले विचार गर्नुपर्ने अवस्था रहेको बताए । 

काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर अघि बढनुपर्ने पक्षमा छन् भने महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा त्यस प्रस्तावको विपक्षमा उभिएका छन् । 

Skip This
Skip This
Logo