एन्फाले कम्तिमा तीन समूह बनाएर प्रशिक्षण दिने

एन्फाले कम्तिमा तीन समूह बनाएर प्रशिक्षण दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले कम्तीमा तीन वटा समूह बनाएर राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गराउने भएको छ । खेलाडीको कोरोना परिक्षणको तयारी गरेको एन्फाले खेलाडीलाई कम्तिमा तीन समूहमा बाँडेर प्रशिक्षण गराउने भएको हो । एउटा समूहमा १० देखि १२ जना खेलाडी रहनेछन् ।

एन्फाले खेलाडीको अभ्यासको क्रममा मेडिकल बिज्ञसँग छलफल गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निर्देश गरेका नियमहरु पालना गर्ने जनाएको छ ।

एन्फाले खेलाडीको अभ्यासका लागि ‘प्राटोकल’ समेत बनाईसकेको छ । खेलाडी प्रशिक्षणका लागि भन्दै एन्फाले ललितपुरको सातादोबाटोस्थित केन्द्रिय कार्यालयको होस्टेल खाली गराएर निर्मलीकरण गर्ने काम गरिरहेको छ । कोरोना संक्रमण बढेसँगै एन्फाले केन्द्रिय होस्टेल समेत क्वारेन्टिनको रुपमा प्रयोग गर्न दिएको थियो । खेलाडीको प्रशिक्षण गर्ने तयारी गरेसँगै एन्फाले होस्टेल खाली बनाएको हो ।

मंगलबार साँझ होस्टेल खाली बनाएर किटाणुरहित बनाउन निर्मलीकरण गर्ने काम सम्पन्न भएको थियो । होस्टेललाई थप सफा गरेर खेलाडीलाई स्थायी रुपमा राख्ने एन्फाको योजना छ ।

एन्फाले खेलाडीको प्रशिक्षण सुरु गर्ने निर्णय गरेसँगै अधिकांश खेलाडी उपत्यका आएर बसेका छन् । एन्फाका अनुसार ११ खेलाडीसहित १३ जना होस्टेल र अन्य २२ खेलाडी उपत्यकामा होम क्वारेन्टिनमा रहेका छन् ।

केही दिनभित्र कोरोना परिक्षण (पीसीआर) गरेर खेलाडीलाई होस्टेलमा राख्ने एन्फाको तयारी छ । एन्फाले खेलाडीको कोरोना परिक्षणको नतिजा सकारात्मक आएको खण्डमा भदौ १ गतेबाट नियमित प्रशिक्षण सुरु गर्ने योजना बनाएको छ । मुख्य प्रशिक्षक योहान कालिन घर गएकाले सुरुवाती चरणमा सहायक प्रशिक्षक किरण श्रेष्ठले फुटबल टिमको प्रशिक्षण सुरु गर्नेछन् ।

सन् २०२२ को विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपालले प्रतिस्पर्धा गरिरहेको छ । छनोट अन्तर्गत नेपालले तीन होम खेल खेल्न बाँकी छ । समूह बी को नेपालले अवे खेल खेलिसकेको छ ।

अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । नेपालले अक्टोबर ८ मा चाइनिज ताइपे, अक्टोबर १३ मा अष्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्नेछ ।

Skip This
Skip This
Logo