के हो भाइरल बाघको वास्तविकता ?

के हो भाइरल बाघको वास्तविकता ?

केन्द्रबिन्दु
0
Shares

सामाजिक सञ्चालमा निकै चर्चा कमाएको बाघको मूर्तिको तस्बिर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ को भैरव सामुदायिक वनभित्र रहेको ‘सहिद पार्क’ को हो । सबैले खोजेको, चाहेको मूर्ति त ‘हेर्दै खतरनाक होस्, झम्टिने खालको होस्’ । तर, यो मूर्ति त्यस्तो छैन । बाघको अनुहार त पूरै पाउरोटीजसरी फुलिएको छ । त्यहिँ कारण पनि अहिले यो बाघले निकै चर्चा कमाएको छ । 

सुर्खेत सहिद पार्कमा बनाइएका ती मूर्तिबारे विभिन्न कोणबाट टिप्पणी भइरहेका छन् । कतिपयले यी मूर्ति बनाउन १३ लाख रुपैयाँ खर्च भएको दाबी गरेका छन् । तर, उक्त मूर्ति बनाउँन मात्र ५० हजार खर्च भएको पाइएको छ । सामाजिक सञ्जालमा २ वटा बाघको मूर्ति जोडेर राखिएको छ । तीमध्ये एउटा पुरानो हो भने अर्को नयाँ हो  ।

भैरव सामुदायिक वन क्षेत्रमा रहेको सुर्खेतको पर्यटकीय स्थल सहिद पार्कमा राख्नका लागि पार्क व्यवस्थापन समितिले पाटेबाघको मूर्ति बनाएको थियो । केही समय पहिले बनाएको एउटा मूर्ति टुक्रिन थालेपछि समितिले अर्को मूर्ति बनाएको हो ।

भाइरल दुई वटा बाघमध्ये सानो बाघ वीरेन्द्रनगरको फलाँटे भन्ने ठाउँका एक जना कालिगडले ५० हजार रुपैयाँमा बनाएका हुन् । उनले आफैले म बनाउँछु भनेपछि वन समितिले उनलाई बनाउने जिम्मा दिएको थियो । यद्यपि उनले बनाएको बाघको मूर्ति त्यत्ति राम्रो भएन ।

कालिगडले ढुङ्गा जोडेर मूर्ती बनाएका थिए । तर, पार्कमा राखिएको ४–५ महिना नहुँदै भाँचियो । कालिगडले पुनः मर्मत गरेपनि दुई महिनामै टुक्रियो । मूर्ती राम्रो  नभएपछि ५० हजार दिने भनिएकोमा ३५ हजार मात्रै भुक्तानी गरिएको पार्क व्यवस्थापन समितिले जनाएको हो ।

त्यस्तै, अर्को दायाँ पट्टीको अलि मोटो खालको नयाँ बाघको मूर्तिसँगै एउटी कन्याको मूर्तिको मूल्य १ लाख ११ हजार रुपैयाँ हो । पुरानो मूर्ति भाँचिएपछि पुःन राम्रो बाघ बनाउने सोचले मूर्ति र कर्णालीकै भेषभाव झल्किने खालको एक जना युवतीको मूर्ति बनाउने निर्णय भयो । काँक्रेविहार र वीरेन्द्रनगरकै लाटीकोइलीको शिव मन्दिर बनाउने ललितपुरका कालिगडहरूसँग मूर्ति बनाउने विषयमा सम्पर्क भयो । उनीहरुले बनाएको २ वटा मूर्तीको समितिले १ लाख ५ हजार भुक्तानी गरेको बताइएको छ । भाइरल भएको उक्त बाघको सालिक एउटै ढुङ्गाबाट निर्माण गरिएको र हतारमा निर्माण भएकाले स्वरूप फरक भएको सालिक निर्माण गर्ने कम्पनीका सञ्चालकले भनेका छन् । 

मूर्तिकार स्वयंले भने बाघको स्वरुप त्यस्तो नराम्रो भनेर मान्दैनन् । उनी भन्छन्, ‘त्यति नराम्रो पनि त थिएन त्यो, अलि मोटो भएर मात्रै त्यस्तो लाग्या होला ।’ मूर्तिकार हुन्, सीताराम डिमडुङ । उनी एक जना कामदार राखेर उक्त मूर्ति पाँच दिनमा बनाइसकेको बताउँछन् । साथै, बाहिर ‘१३ लाखमा मूर्ति बनाएको’ विषयमा उनले असहमति पनि जनाएका छ्न् ।

उनी भन्छन्, ‘१५-२० लाख ज्याला पाएँ भने त मैले साँच्चिकै बोल्ने बाघ जस्तै बनाई दिन्छु । मैले एकजना काम गर्ने सहयोगी राखेर पाँच दिनमा सकाएको थिएँ ।’ मूर्ति जम्मा २५ हजारमा बनाएको पनि उनले भनेका छन् । अहिले उनी ललितपुरमा बसेर मूर्ति बनाउने काम गरिरहेका छन् । मूर्ति बनाउने काम १५ वर्ष भइसकेको पनि उनले बताएका छन् । उक्त सहिद पार्क अवलोकनमा आउने पर्यटकहरूबाट उठेको टिकटको पैसाबाट बनाइएको हो । पार्कमा प्रवेश गर्नका लागि प्रति २० रुपैयाँ तिर्नुपर्छ । 

पछिल्लो समय सामाजिक सञ्जालमा बाघ मात्र होइन देशैभरीका भगवान शिव, चराचुरुङ्गी, दुम्सी, कुकुर, बंगुर, बिरालोलगायत जनावरका मूर्ति राखेर आवरणमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले व्यंग्यात्मक टिप्पणी गरिरहेका छन् । बाघजस्तै देखाउने प्रयास गरेपनि मूर्तिको मुखाकृति नमिलेको भन्दै सामाजिक सञ्जालमा भाइरल हुँदै गर्दा यसको लागतका विषयमा पनि विभिन्न अड्कल, अनुमान र आलोचना हुँदै आएको छ । 

पर्यटकीय नगरी सुर्खेतको यो पार्क अवलोकन नगरेकाहरू विरलै होलान्, सहिद पार्कको क्याप्सन लेख्दै टिकटक बनाउनेहरूको जमात बढेपछि अहिले यो पार्क आन्तरिक पर्यटकहरूको गन्तव्यस्थल बन्न पुगेको हो । पार्कभित्र एउटा सहिद स्तम्भ, एउटा पोखरी छ, जसको बनावट र त्यो पोखरी भित्रको पानीको फोहराहरुसँग आन्तरिक पर्यटकहरू रमाउने गरेका छन् । यो पार्क प्रेमिल जोडीहरूको लागि ‘डेटिङ’ स्थल पनि बनिरहेको छ । कर्णाली प्रदेश सरकारले झण्डै साढे ३ करोड रुपैयाँको लागतमा पार्क निर्माण गरेको हो ।

Skip This
Skip This
Logo