काठमाडौं ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको कारण विभिन्न व्यवसाय धरासायी बनेका छन् । उद्योग, कलकारखाना, व्यापार व्यवसाय, पर्यटन क्षेत्रदेखि उपत्यकामा घरजग्गाको कारोबार मात्रै गर्नेहरुलाई पनि असर परेको छ । लकडाउनले मानिसहरुसँग भएको पैसा पनि सकिदै गएकाले जग्गा किन्ने मानिसहरु पनि पछि हटेपछि कारोबार हुन छोडेको छ ।
तर सरकारले चार महिनासम्म लगाएको लकडाउन गत साउन ६ गतेदेखि अन्त्य भएको छ । तर लकडाउन अन्त्य भए पनि घरजग्गा कारोबार नबढेपछि उपत्यकामा जग्गाको कारोबार खुम्चिदै गएको छ भने जग्गामा धेरै नाफा कमाउने भन्दै लगानी गरेर बस्नेहरु अब जग्गाको मूल्य घटेर नाफा नआउने भन्दै आत्तिन थालेका छन् ।
उपत्यकामा कोरोना कहरकै बीचमा पनि घरजग्गा बिक्री गर्नेहरु अत्याधिक भए पनि जग्गा किन्ने मान्छे नभए पछि मूल्य घटाएर भए पनि जग्गा बेच्ने तयारीमा रहेका छन् ।
लकडाउन हुनु भन्दा अगाडि देशभर दैनिक ३ हजार भन्दा बढी घरजग्गा किनबेच हुने गरेको थियो । चैत महिनामा १० दिन मात्रै खुलेका मालपोत कार्यालयले १७ हजार बढी घरजग्गा किनबेच गरेको भूमि व्यबस्थापन तथा अभिलेख विभागको तथ्यांकमा उल्लेख छ । पहिले सामान्य अवस्थामा मासिक ७ देखि ८ हजारसम्म घरजग्गा किनबेच हुने काठमाडौं उपत्यकामा अहिले भने मासिक ४ देखि ५ हजारमात्रै घरजग्गा किनबेच हुन थालेको विभागको तथ्यांक छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार असार महिनाभन्दा साउन २० गतेसम्ममा ४६ हजार ३ सय ६१ ले मालपोत कारोबार बढेको छ । असार महिनामा १६ हजार ६०७ कारोबार भएको थियो । तर असारको भन्दा साउनमा बढ्न थालेको विभागले जनाएको छ ।
सरकारले लकडाउन अन्त्य गरेसँगै लगभग ४० हजार घरजग्गा किनबेच भएका छन् । साउन लागेपछि दैनिक औसत एक हजार मात्रै घरजग्गा किनबेच भइरहेको चैतमा दैनिक औसत १७ सय घरजग्गा किनबेच हुँदा असारमा १५ सय र साउनमा एक हजार मात्रै घरजग्गा किनबेच भइरहेको विभागले जनाएको छ ।
कोरोना भाइरसको महामारीले विश्वलाई नै संकटमा पारेको अवस्थामा घरजग्गा कारोबारमा झन बढी प्रभाव परेको नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका अध्यक्ष सिताराम दाहालले बताए ।
उनका अनुसार लगानी गरेर राखेका, बिक्री गर्नुपर्ने जग्गा किन्ने मान्छे नभएपछि जग्गाको मूल्य घट्ने अवस्था आएको छ । उनले भने, ‘कोरोना माहामारीबाट बच्नु पहिलो प्राथमिकता रहेकाले केही समयसम्म कारोबार कम हुने देखिएको छ ।’ आर्थिक अभाव नभएका व्यवसायीले जग्गा होल्ड गरे पनि समस्यामा परेकाहरुले भने मूल्य घटाएर पनि जग्गा बेच्न तयार भएको उनको भनाइ छ ।
मूल्य घट्ने संकेत
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनपछि घरजग्गा किनबेच खुम्चिएकाले जग्गाको मूल्य पनि घट्ने आँकलन गर्न थालिएको छ । घरजग्गा किनबेचका लागि ब्रोकरको काम गर्ने व्यवसायीहरु तथा अनलाइन साइटहरुमा समेत घरजग्गाको मूल्य घटाएर बिक्रीका लागि राखिएका छन् ।
पछिल्लो चार महिनामा सामान्य अवस्थामा प्रतिआना १५ लाखदेखि २० लाखमा बिक्रिमा राखिएका जग्गा अहिले व्यवसायीहरुले १२ लाखदेखि १८ लाख रुपैयाँसम्म बेच्न सक्ने जनाएका छन् । तर जग्गामा नै लगानी गरेर पैसाको आवश्यकता नपरेकाहरुले भने जग्गाको मूल्य नघटाएका दाहालले बताएका छन् ।
अहिले भित्री चक्रपथ वरपर प्रतिआना २० देखि २५ लाख रुपैयाँमा किनबेच भइरहेको छ भने प्रस्तावित बाहिरी चक्रपथ वरपर प्रतिआना ८ देखि १२ लाख रुपैयाँसम्ममा किनबेच भइरहेको छ । भिर पाखा र छेउछाउको जग्गा भने अहिले पनि प्रति रोपनी २ देखि ३ लाख रुपैयाँसम्ममा किनबेच हुने गरेको व्यवसायीहरुले बताएका छन् । यस्तै, कोरोना भाइरसको प्रभावले जग्गाको कारोबार कम भए पनि उपत्यकाका विभिन्न स्थानिय तहले जग्गाको न्यनतम मूल्य तोकेका छन् ।
कुन स्थानको मूल्य कति ?
भक्तपुरको पक्की मोटरबाटो सडकको दायाँबायाँ अरनिको राजमार्ग जोडिएको जग्गा मूल्य भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरले आर्थिक वर्ष २०७७/७८ मा २३ लाख ७६ हजार नयाँ मूल्य तोकेको छ । त्यस्तै, सल्लाघारी, जगाती, च्यामासिङ, पसिखेल सडकदेखि कमलविनायक चोकसम्म, सल्लाघारी चोकदेखि दुवाकोट छुट्टिने खस्याङखुसुङ खोलासम्मको जग्गाको मूल्य १३ लाख २८ हजार रहेको छ ।
भक्तपुरकै शहरी इलाकामा रहेको मूलबाटो, सहायक बाटो, गल्लीबाटो, चोकबाटोमा रहेको जग्गाको मूल्य २ लाख रुपैयाँ देखि ८ लाख रुपैयाँ सरकारी मूल्य रहेको छ । काठमाडौं महानगरभित्रमाको आर्थिक वर्ष २०७७/७८मा नयाँ मूल्य कायम गरेको छ । नयाँ मूल्य अनुसार महानगर क्षेत्रभित्रको तीनकुनेदेखि चावहिल मालपोत कार्यलयसम्म मूल सडक जोडिएको जग्गा प्रतिआना २८ लाख, कोटेश्वर बालकुमारीदेखि नयाँ वानेश्वरसम्मको जग्गा प्रतिआना ३२ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, हनुमानढोका, न्युरोड, माइतिघर, केशरमहल, ठमेल, पुतलीसडक, सिंहदरबार , रत्नपार्क, सुन्धारा, रानीपोखरी, जमल वरिपरिका क्षेत्रहरुका जग्गामा प्रतिआना ५० लाख रुपैयाँ सरकारी मूल्य कायम रहेको छ । काठमाडौं महानगरकोे सवै भन्दा महँगो जग्गाको मूल्य रहेकामाथि उल्लेखित क्षेत्र रहेका छन् भने सबैभन्दा सस्तो सडक नपुगेको क्षेत्र सिनामंगल वरिपरि तथा खोला किनारका जग्गा ४ लाख रुपैयाँसम्म प्रतिआना तोकिएको छ । तर, सरकारले तथा स्थानिय तहले तोकेको एउटा मूल्य हुने गर्छ भने किनबेच हुँदा ५० लाख आनाको जग्गा १ करोडदेखि ४ करोड आनासम्ममा बेच्ने गरेको पाइन्छ ।































प्रतिक्रिया