भारतको ग्रेटरनोयडामा सुरु भएको द अटो एक्सपो–मोटर शो २०२३ को दोस्रो दिन बिहीवार पनि प्रदर्शनीमा विभिन्न नयाँ-नयाँ गाडीहरु राखिएका छन् ।
बुधबार सुरु भएको एक्स्पो भारतीय अटोमोबाइल उद्योगको सबैभन्दा ठूलो प्रदर्शनी हो । एक्सपोमा विभिन्न कम्पनीहरूले विद्युतीय कार र स्पोर्ट युटिलिटी भेइकल (एसयूभी) को नयाँ मोडल र कन्सेप्ट मोडलहरूलाई प्राथमिकता दिएका छन् । यो सँगै मेलामा विद्युतीय दुई पाङ्ग्रे सवारी साधन र तिनका कम्पोनेन्टहरू पनि राखिएको छ ।

प्रदर्शनीको दोस्रो दिन टोयोटाका ल्याण्ड क्रुजर, भेलफायर, बीजेड फोरएक्स, लिजेण्डर जस्ता गाडी राखिएका छन् । यसैगरी कियाको सोनेट एक्सलाइन, इभी सिक्स,करेन्स, केएफोर, इभी नाइन जस्ता गाडीहरु पनि रहेका छन् । प्रदर्शनीमा सुजुकी र हुण्डाइ कम्पनीका नयाँ भर्सनका उत्पादनहरु राखिएका छन् ।

ग्रेटर नोएडाको इन्डिया एक्सपो मार्टमा आयोजना गरिएको प्रदर्शनीको पहिलो र दोस्रो दिन मिडियाहरुका लागि मात्र खुल्ला गरिएको हो । किनबेचका लागि भने जनवरी १३ तारिख शुक्रबारदेखि मात्र खुल्ला हुनेछ ।
सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम),अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चरर्स एसोसिएसन अफ इन्डिया (एसीएमए) र कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) को सहकार्यमा आठ दिने प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको १६ औं संस्करणको नारा ‘एक्सप्लोर द वल्र्ड अफ मोबिलिटी’ रहेको छ ।

अटो एक्स्पो द मोटर शो–२०२३ मा ४८ सवारी साधनका निर्मातासहित ११४ उद्योगको सहभागिता रहेको छ । एक्सपोमा ५ ग्लोबल प्रिमियर सहित ७५ भन्दा बढी सवारीसाधनहरु लन्च गर्ने तयारी रहेको छ । एक्सपोमा टीभीएस मोटर, हिरो मोटोकर्प, होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डिया, बजाज अटो, यामाहा, मोटर इन्डिया, सुजुकी मोटरसाइकल इन्डिया, मारुती सुजुकी इन्डिया लिमिटेड र टोयोटा किर्लोस्कर मोटर्सका दुई पाङ्ग्रे र चारपाङ्ग्रे सवारीसहित ३ वटा विशेष प्याभिलियन रहनेछन् ।

साथै, अटो एक्स्पो २०२३ मा ईभी (विद्युतीय सवारी) यात्रुवाहक सवारी, ईभी दुई र तीन पाङ्ग्रे र ईभी कमर्शियल सवारी उत्पादनमा विशेषज्ञता हासिल गर्ने स्टार्ट–अपहरूको सहभागिता पनि उल्लेख्य रहेको छ ।





























प्रतिक्रिया