बागमती प्रदेशसभाको दोस्रो कार्यकालको सभामुखको लागि आज निर्वाचन हुँदैछ।
शुक्रबार बिहान ११ बजे सुरु हुने प्रदेशसभाको बैठकमा सभामुख चयनको लागि मतदान हुने भएको हो। सभामुखको लागि बिहिबार सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले गरी तीन जनाको उम्मेदवारी दर्ता भएको छ। सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सृजना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्।
एमालेका सांसद जगन्नाथ थपलियाको प्रस्ताव र माओवादी केन्द्रका युवराज दुलाल ‘शरद’को समर्थनमा सत्ता गठबन्धनको तर्फबाट राप्रपाका पाठकले उम्मेदारी दिएका छन्। कांग्रेसका सांसद कुन्दनराज काफ्लेको प्रस्ताव र रामकृष्ण चित्रकारको समर्थनमा अधिकारीले मनोनयन दर्ता गरेका हुन्। उनी कांग्रेसको कोटामा धादिङबाट समानुपातिक सांसद बनेका थिए। नेमकिपाका सांसद सुरेन्द्रराज गोर्साइको प्रस्ताव र गीता काफ्लेको समर्थनमा सायजुले पहिलो नम्बरमा उम्मेदवारी दिएकी थिइन्। उनी भक्तपुरबाट नेमकिपाको समानुपातिक कोटाबाट दोस्रापटक सांसद चुनिएकी हुन्।
कुल ११० सदस्यीय प्रदेशसभामा सरकार गठन गर्दा संसदको ५ दलका ७० सांसदले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई समर्थन गरेका थिए। बाग्मती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई जना गरी एक सय १० जना प्रदेश सभा सदस्य रहेका छन् ।































प्रतिक्रिया