दुर्घटना नदोहोरिने सुनिश्चिततासहित सरकारले काम गरोस्ः काँग्रेस प्रवक्ता महत

दुर्घटना नदोहोरिने सुनिश्चिततासहित सरकारले काम गरोस्ः काँग्रेस प्रवक्ता महत

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले छानबिन समितिको निस्कर्षलाई आम सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताएका छन् । 

आईतवार काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटना भएकोप्रति दुःख व्यक्त गर्दै प्रवक्ता महतले यस्ता घटनाहरु पटकपटक दोहोरिरहेको भन्दै जाँचबुझका लागि गठन गरेको समितिले बुझाएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् । उनले समितिले बुझाएका प्रतिवेदनहरुको सही कार्यान्वयन हुन नसक्दा यस्ता घटनाहरुको पुनरावृत्ति भइरहेको बताए । 

प्रवक्ता महतले अहिलेसम्म भएका विमान दुर्घटनाहरु किन भए भन्ने जाँचबुझ समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक रहेको बताए । उनले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनका आधारमा दुर्घटना दोहोरिन नदिन यथेष्ठ उपाय खोज्नुपर्ने बताए । 

उनले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनको कार्यान्वयन गरेर अघि नबढ्ने हो भने अन्तर्राष्ट्रिय जगतमा नै नेपाल हवाई यातायातको क्षेत्रमा अत्यन्त जोखिमयुक्त देश बन्ने सन्देश प्रवाह हुने बताए । 

प्रवक्ता महतले सरकारले दुर्घटनाको विषयलाई गम्भीरताका साथ लिएर नदोहोरिने सुनिश्चितता मुखले नभइ कामबाट नै गर्ने कुरामा सरकार र सम्बन्धित निकाय लाग्नुपर्ने बताए ।  

आईतवार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी जहाजमा सवार सबैको निधन भएको छ । अझै केही शव भने खोज्ने क्रम जारी छ । 

Logo