एनसेल भयो सार्वजनिक कम्पनी : अब सर्वसाधारणलाई शेयर जारी गर्न पाउने

एनसेल भयो सार्वजनिक कम्पनी : अब सर्वसाधारणलाई शेयर जारी गर्न पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

निजी क्षेत्रको ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेल प्रा. लि. अब सार्वजनिक कम्पनी भएको छ ।

अब यो कम्पनी एनसेलबाट एनसेल आजियाटा लिमिटेड भएको छ । कम्पनी ऐन २०६३ को पछिल्लो संसोधित व्यवस्था अनुसार आगामी बैशाखभित्र ५ करोड रुपैँयाँ भन्दा बढी चुक्तापूँजी हुने दूरसञ्चार कम्पनीहरु सार्वजनिक कम्पनीमा जानु पर्ने व्यवस्थाका कारण एनसेलले आफूलाई सार्वजनिक कम्पनीमा परिवर्तन गरेको हो ।

एनसेलले २०७५ सालको बैशाखमा पब्लिक कम्पनीमा जान आवेदन दिएको थियो । एनसेलले कम्पनी रजिष्ट्रार कार्यालयबाट गत सोमबार सार्वजनिक कम्पनीको रुपमा कारोबार गर्ने गरी अनुमति पाएको छ । एनसेल प्रालिको रुपमा सेवा तथा कारोबार गर्दै यस कम्पनीले अब एनसेल आजियाटा लिमिटेडको रुपमा सेवा प्रदान गर्ने भएको छ । एनसेल सार्वजनिक कम्पनी भएसँगै सर्वसाधारणलाई शेयर जारी गर्ने प्रक्रियामा अगाडि बढाउने भएको छ ।

सन् २०१० मा स्विडेनको दूरसञ्चार कम्पनी टेलियासोनेरा विक्रि गरेपछि एनसेलको रुपमा सेवा सञ्चालन गर्दै आएको छ । २०७२ पुस ६ गते मुख्य लगानीकर्ता टेलियासोनेराले एनसेलमा भएको आफ्नो ६०.४ प्रतिशत शेयर १ अर्ब ३ करोड अमेरिकी डलरमा मलेसियाली कम्पनी आजियाटालाई विक्रि गर्ने निर्णय गरेको थियो । त्यस निर्णयसँगै एनसेलमा स्थानीय साझेदारका रुपमा रहेका निरज श्रेष्ठको २० प्रतिशत शेयर पनि स्थानिय साझेदार भावना सिंह श्रेष्ठलाई विक्रि गरिएको थियो । एजियटाले आफैंले स्थानीय साझेदार चयन गरेको थियो । स्थानीय साझेदार बाँकी रहेको १९.६ प्रतिशत शेयर पछि पनि एजियाटालाई नै विक्रि गरिएको थियो । त्यसकारण एनसेलको ८० प्रतिशत शेयर हाल एजियटा र बाँकी २० प्रतिशत शेयर स्थानीय साझेदार श्रेष्ठसँग छ ।

२०७३ बैशाखमा एजियटाले एनसेलको कम्पनी आफ्नो मातहत ल्याएको थियो । एनसेलले २०६१ भदौ १६ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल सेवा सञ्चालनको अनुमति लिएको थियो । प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार एनसेलका हाल १ करोड ६० लाखभन्दा बढी मोबाइल प्रयोगकर्ता रहेका छन् ।

Logo