प्रादेशिक सार्वजनिक स्वास्थ्य प्रयोगशाला प्रदेश १ लाई हस्तान्तरण गरिएको छ ।
मंगलवार एक कार्यक्रमबीच एड्स, क्षयरोग र मलेरियाबिरुद्धको ग्लोबल फण्डका क्षेत्रिय प्रवन्धक निकोलस कान्टु र सेभ दी चिन्ड्रेनकी नेपाल तथा भुटानस्थित कार्यालयकी निर्देशक हिदरक्याम्प बेलले संयुक्त रुपमा प्रयोगशालाको हस्तान्तरण गरेकी हुन् । ग्लोवल फण्डले नेपालको लागि प्रदान गरेको अनुदान सहायताको रकमबाट प्रयोगशालाको स्थापना भएको हो ।
साढे १० करोड रुपैयाँ लागतमा स्थापना गरिएको प्रयोगशालामा आगामी दिनमा अतिरिक्त फर्निचर, लिफ्ट, प्रयोगशालाका लागि आवश्यक पर्ने अन्य उपकरण पनि थप्ने योजना रहेको बताइएको छ । नेपालस्थित दी ग्लोबल फण्ड कार्यक्रमले नेपालमा क्षयरोग, एचआईभी तथा मलेरिया रोगबिरुद्धको प्रतिकार्यमा सहायता गर्दै आएको छ । नेपालस्थित सेभ दी चिल्ड्रेन इन्टरनेशनलले प्रमुख साझेदारको रुपमा नेपाल सरकार, जोखिम वाह्य विकास साझेदार र नागरिक समाज संस्थाहरुसँगको सहकार्यमा ग्लोवल फण्ड कार्यक्रमको व्यवस्थापन गर्दै आएको छ ।
सन् २००८ देखि सेभ दी चिल्ड्रेनले ग्लोवल फाण्डको अनुदान व्यवस्थापन गर्दै आएको छ । सन् २०१५ यता भने सेभ दी चिल्ड्रेनले ३ रोग (एचआईभी, क्षयरोग र मलेरिया) को लागि पूर्ण व्यवस्थापन गर्दै आएको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ मा स्वास्थ्य मन्त्रालयलाई अलग्गै मन्त्रालय बनाइ मन्त्रालयको सेवाहरु उत्कृष्ट बनाइने प्रतिवद्धता जनाए । स्वास्थ्य मन्त्रालयलाई सामाजिक मन्त्रालय मातहतमा राख्ने चर्चा चलिरहका बेला मुख्यमन्त्री कार्कीको यस्तो प्रतिक्रिया आएको हो ।
उनले मन्त्रालयलाई अध्ययनको क्षेत्रमा जोडेर जनशक्ति र आर्थिक श्रोत जुटाइ मन्त्रालयबाट दिने सेवाहरु चुस्त बनाइने बताए । उनले स्वास्थ्यसँग जोडिने सरकारी संरचनाको विकासमा लगानी बढाएर स्वास्थ्यमा जनताको पहुँच सुनिश्चित गर्न लाग्ने बताए ।
मुख्यमन्त्री कार्कीले सरकारी स्वास्थ्य सेवाको नतिजा कमजोर भइरहेकाले सरकारी स्वास्थ्य केन्द्रहरुको सेवा चुस्त बनाइ सरकारी क्षेत्रहरु आकर्षक बनाउनेतिर आफू लाग्ने बताए ।





























प्रतिक्रिया