विश्वासको मत पाएपछि मुख्यमन्त्री जम्कट्टेलले भने- अब विकासको निम्ति काम गर्छौं

विश्वासको मत पाएपछि मुख्यमन्त्री जम्कट्टेलले भने- अब विकासको निम्ति काम गर्छौं

केन्द्रबिन्दु
0
Shares

वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत प्राप्त भएको छ । 

हेटौंडामा आज बसेको प्रदेश सभा बैठकबाट जमकट्टेलले विश्वासको मत प्राप्त गरेका हुन् । उनको पक्षमा संसदमा प्रतिनिधित्व गर्ने ७ मध्ये ६ दल रहेका थिए । विश्वासको मत प्राप्त गर्न ५६ सांसद आवश्यक रहेकोमा उनको पक्षमा १०५ सांसदले मत दिएका थिए भने विपक्षमा ३ जना सांसदले मतदान गरे । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी र प्रतिपक्षमा बस्ने गरी नेपाली काँग्रेसले समेत विश्वासको मत दिएको छ । 

विश्वासको मतको विपक्षमा नेपाल मजदुर किसान पार्टीका ३ सांसदले मतदान गरेका छन् । विश्वासको मत प्राप्त गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री जमकट्टेलले संसदमा सहभागी अधिकांश दलले मत दिएको र सबै दलको विश्वासले खण्डित नगर्ने गरी काम गर्ने प्रतिवद्धता जनाए । उनले ७ मध्ये ६ दलबाट विश्वासको मत आउनुले नयाँ सन्देश प्रवाह भएको र जनताको सेवामा आफू काम गर्ने बताए । 

उनले भने, ‘आज वागमती प्रदेश सरकारले अगाडि बढाएको छ । यसमा सबै एकै ठाउँमा हुनुभएको छ । नेपाल मजदुर किसान पार्टी बाहेक अरु प्रदेश सभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलहरु एकै ठाउँमा उभिएका छौँ । यो विश्वासको मतले हामीलाई एउटा नयाँ सन्देश दिएको छ ।’ 

मुख्यमन्त्री जमकट्टेलले वागमती प्रदेश सरकारले जनताको चाहनाअनुसार पूर्ण रुपमा प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति काम गर्ने बताए । 

Logo