काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन्द्र शाह अर्थात बालेन चर्चाको चुलीमै छन् । निर्वाचनमा शानदार जित निकालेका बालेनबाट परिवर्तनको अपेक्षा गरेका मतदाताले पछिल्लो समय उनको आलोचना गरिरहेका छन् । हिजोआज कामको सुरुवात गर्ने अनि अलपत्र छाड्ने प्रवृत्ति कायम राखेको भन्दै शाहविरुद्ध आवाज उठ्न थालेको छ । आफूविरुद्ध आवाज उठ्न थालेपछि बालेन ठाउँको ठाउँ प्रतिकारमा उत्रिन थालेका छन् । सामाजिक सञ्जालमै दोहोरी खेल्न थालेपछि निर्वाचन ताकाका समर्थकहरु पनि उनको विरोधमा देखिएका छन् ।
१. बैठकको प्रत्यक्ष प्रसारण
मेयर पदभार ग्रहण गरेकै दिन बालेन्द्र शाहलेआफ्नो चुनावी अभियानमा घोषणा गरे अनुसार महानगरपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गराए। उक्त विषयले उनी सुरुमै विवादित बने । कतिपयले उनको उक्त कदमलाई “सस्तो लोकप्रियता”को नाम दिएभने कतिले प्रशंसा पनि गरे। उक्त बैठकमै काठमाण्डौं महानगरपालिकाकाएकजना वडा अध्यक्षले पद तथा गोपनियताको शपथ नै “ओपनीयता’ भनेर व्यंग्य कसेका थिए । मेयर शाहले बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयको प्रतिरक्षा गर्दै त्यसलाई एउटा संसदीय अभ्यासको रूपमा प्रस्तुत गरेका थिए।महानगरका विभिन्न बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने कार्यले हालसम्म पनि निरन्तरता पाएको छ ।
२.फोहोर व्यवस्थापन
मेयर बनेपछि बालेन विवादमा परेको अर्को विषय थियो– काठमाण्डौंको फोहोर व्यवस्थापन। महानगरपालिकाभित्रको फोहोर व्यवस्थापन गरिने नुवाकोटमा पर्ने स्थानका स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि उपत्यकामा कैयौँ दिनसम्म फोहोर उठ्न सकेको थिएन। मेयर शाहले “आफू फोहोर व्यवस्थापनको दीर्घकालीन व्यवस्थापनको उपायको खोजीमा रहेको” भन्दै बरु केही समय फोहोर नै नउठाउने नीति लिए।त्यसलाई लिएर मानिसहरूले शाहको कदमको आलोचना गरे । उनको त्यो नीतिका कारण काठमाण्डौमा हप्तौँसम्म फोहोर थुप्रिएको थियो । तर महानगरले अहिले कुहिने र नकुहिने फोहोर छुट्ट्याएर राख्नुपर्ने नियमलाई कडाइका साथ लागू गरेको देखिएको छ ।
३. फुटपाथ व्यवस्थापन
मेयर शाहको अर्को विवादित कदम हो–फुटपाथ व्यवस्थापन । फुटपाथका लागि छुट्टाइएको क्षेत्रमा व्यापार गर्नेहरूप्रति कडा नीति लिएका शाहले नगर प्रहरीलाई त्यस्ता व्यापारीलाई हटाउने निर्देशन दिएका थिए।सोही अनुसार नगर प्रहरीले साना व्यापारीका सामानहरू फाल्नेदेखि जबरजस्ती ठेलागाडा एवं सामानहरू जफत गरेका थिए । महानगरपालिकाको त्यस्तो कारबाहीप्रति धेरैले आक्रोश व्यक्त गरेका थिए भने कतिपयले केही पाउन केही गुमाउनुपर्छ भन्दै सकारात्मक टिप्पणी पनि गरेका थिए ।
फुटपाथ व्यवस्थापनकै क्रममा काठमाडौं महानगरले तिहारका बेला व्यवसायीले पसलअगाडि सजाएका झिलिमिली गेटसमेत भत्काइदिँदा मेयर बालेनको आलोचना भएको थियो ।
४. भूमिगत पार्किङ
भूमिगत पार्किङको स्वीकृति लिएर महानगरपालिकाबाट नक्सा पास गरेका तर त्यस्ता पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग गरेका भवनमाथिडोजर चलाउँदा पनि मेयर शाहको आलोचना र प्रशंसा दुवै भयो। महानगरको सूचनालाई अटेर गरेको भन्दै मेयर शाहले आफ्नै अगुवाइमा बानेश्वर क्षेत्रबाट अन्य प्रयोजनमाआएका भूमिगत पार्किङका संरचनाहरू भत्काउन सुरु गर्दा केही व्यवसायी एवं घरधनीसँग उनको चर्काचर्की समेत भयो। मेयर शाहले “अर्काको व्यक्तिगत सम्पत्तिमाथि जबरजस्ती गरेको“ आरोप समेत लागेको थियो । कतिपयले भने “कानुनलाई अटेर गर्नेलाई“ मेयरले तह लगाएको भन्दै प्रशंसा पनि गरेका थिए ।
५. टुकुचा खोला
मेयर शाहले काठमाण्डौंका विभिन्न क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचनाहरू पनि भत्काउने कार्य अघि बढाए। त्यसलाई लिएर पनि उनको चर्को आलोचना भयो भने कतिले उनको प्रशंसा पनि गरे । विशेषगरी नारायणहिटी दरबार नजिक जयनेपाल हलबाट सुरु भएको उनको टुकुचा खोज्ने अभियान विवादित बनेको थियो । त्यस स्थानमा राणाकालमै टुकुचा खोलालाई छोपिएको र त्यसबेला नै त्यसलाई छोप्ने संरचना बनाइएकाले त्यो ऐतिहासिक महत्वको संरचना भएको कतिपयको तर्क थियो । यद्यपि कतिपयले टुकुचा छोपेर बनाएका संरचनाहरू हटाउनुपर्ने माग गर्दै बालेनको कार्यको प्रशंसा पनि गरे।
६.सुकुम्बासी बस्ती
मेयर बालेन शाह विवादमा परेको अर्को विषय हो– थापाथलीस्थित वाग्मती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने प्रयास। त्यसका लागि महानगरपालिकाको टोली डोजरसहित उक्त बस्तीमा पुग्दा त्यहाँ झडप समेत भयो । उनको उक्त कदमको धेरैलेसमर्थन गरे भने कतिपयले आलोचना पनि गरे । यो विषयमा उनको समर्थन गर्नेहरूले त्यहाँ अधिकांश मानिसहरू वास्तविक सुकुम्बासी नभएको र विभिन्न राजनीतिक दलले राजनीति गरेको आरोप लगाएका थिए ।
७.निर्देशक विशाल भण्डारीसँग दोहोरी
पछिल्लो समय मेयर बालेन शाह फेरिचर्चामा आएका छन् । शुक्रबार राती कमेडी च्याम्पियनका निर्देशक तथा कार्यक्रम प्रस्तोता विशाल भण्डारीले सामाजिक सञ्जालमा उनलाई मेन्सन गर्दै स्टाटस लेखेपछि भण्डारी र बालेनबीच फेसबुकमा दोहोरी चलेको थियो । यो विषय सामाजिक सञ्जालभरी छरपष्ट भएको छ । प्रस्तोता भण्डारीले बालेन शाहलाई मेन्सन गर्दै “भत्काएको बाहेक बनाएको देखिएन भन्नेको संख्या धेरै भइसकेको” भन्दै उनलाई प्रश्न गरेका थिए । यसको प्रतिक्रियास्वरुप मेयर शाहले ‘तिमीजस्तो बिकाउ मान्छेलाई जवाफ दिन जरुरी छैन।’भनेका थिए ।
यो क्रम जारी रहँदा निर्देशक भण्डारीले बालेनलाई राजाभन्दा पनि माथि भन्दै श्री ८ को पगरी गुथाइदिएका थिए । उनले कमेन्टमा लेखेका छन् ‘मैले प्रश्न सोधेकोमा माफ पाउँ श्री ८ बालेन शाह। भत्काउनुबाहेक के बनाउनुभयो ?’ मेयर शाहले निर्देशक भण्डारीलाई मादक पदार्थ सेवन गरेर स्टाटस लेखेको आरोप समेत लगाए ।यो फेसबुक दोहोरीमा दुबैजनाको विरोध भएको छ ।































प्रतिक्रिया