नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक भएको छ ।
७०औँ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पतालले आयोजना गरेको अन्तरक्रियामा नेपालका १६ जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक गरिएको हो । ती जिल्लाहरुमा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम रहेका छन् ।
मिसनका नेपाल निर्देशक शोभाकर कँडेलले वर्षमा दुई हजारदेखि तीन हजार कुष्ठरोगका नयाँ बिरामी भेटिने गरेको तथ्य राख्दै रोगमुक्त नेपालका लागि सबै क्षेत्रका व्यक्ति तथा व्यक्तित्व मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। कुष्ठरोग मुक्त नेपाल घोषणा गर्ने हाम्रो ठूलो इच्छा छ”, निर्देशक कँडेलले भने, “आजभन्दा ६६ वर्षअघि यहाँ अस्पलात स्थापना गर्न दिएर गोदावरी नगरपालिका वडा नं ५ र ६ का बासिन्दाले ठूलो गुण लगाउनुभएको छ । जति बेला मिशनका गाडी देख्दा पनि स्थानीयवासी छुन डराउँथे ।”
यस्तै, स्वास्थ्य विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख विशेषज्ञ डा. प्रशन्न नापितले विगतका आर्थिक वर्षमा मात्रै ११ जिल्लामा यो रोगका बिरामी रहेका भनाई राख्दै चालु आवमा १६ जिल्लामा यस रोगका बिरामी भेटिएका बताए।
अन्तरक्रियामा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कुष्ठरोगको लक्षण देखिएका मानिसले समयमै उपचार गरे भयावहको स्थिति सिर्जना नहुने बताए । त्यस्तै, नगरपालिकाका उपप्रमुख मुना अधिकारीले विद्यार्थीलाई पनि कुष्ठरोग र सोको उपचार बारे जानकारी गराउन जरुरी रहेको बताउँदै समाजमा जनचेतना फैलाउने माध्यम विद्यार्थी रहेको सुझाव दिए।
आनन्दवन अस्पताल सन् १९५७ मा दि लेप्रोसी मिसन अन्तर्राष्ट्रियको आर्थिक सहयोगमा स्थापित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाकारूपमा सञ्चालन हुँदै आएको छ । यस अस्पताल सन् २००५ देखि दि लेप्रोसी मिसन नेपाल भन्ने गैरसरकारी संस्थाद्वारा सञ्चालित कुष्ठरोगको विषेशज्ञ अस्पताल हो । अस्पतालका प्रसाशक शेरबहादुर गुरुङका अनुसार यस संस्थामा कुष्ठरोगका लागि ८० शय्या निःशुल्क र ३० शय्या हाडजोर्नी तथा अन्य रोगको लागि सःशुल्क गरी जम्मा एक सय १० शय्या रहेको छ ।































प्रतिक्रिया