नेपाल सरकारका वेबसाइट शनिबार करिब पाँच घण्टा अवरुद्ध भएका छन्।
दिउँसो करिब साँढे १२ बजेदेखि बेलुका साढे पाँच बजेसम्म जीओभी डटकम डटएनपी सरकारी वेबसाइट नचल्दा सेवाग्राही मर्कामा परेका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)को सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान बढी मात्रामा प्रभावित भएका छन्। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले शनिबार दिउँसो १२ बजेदेखि आएको प्राविधिक समस्याका कारण छवटा उडानका झन्डै आठ सय यात्रुको हवाई यात्रा प्रभावित हुन पुगेको जानकारी दिए।
उनले भने, ‘अध्यागमनको सर्भर डाउन भएका कारण विमानस्थलबाट भित्रिने र बाहिरिने यात्रुको यात्रा प्रभावित भयो। समयमै जहाज उड्न नपाएपछि कैयौँ कनेक्टिङ फ्लाइटसमेत प्रभावित हुन पुगे।’ यात्रुको सुविधाका लागि म्यानुअल सिस्टममार्फत यात्रा सहजीकरण गरिएको उनको भनाइ छ। अन्तर्राष्ट्रियतर्फका कुनै उडान रद्द नभए पनि नेपाल वायुसेवा निगम, भिस्तरा, इन्डिगो, फ्लाई दुबई, थाई स्माइल र एयर इन्डियाले ढिला (डिले) गरेर उडान भरेको उनले जानकारी दिए।
राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान बढी मात्रामा प्रभावित करिब दुई घण्टासम्म प्राविधिक समस्या समाधान नभएपछि सम्बद्व मन्त्रालय र विभागसँग छलफल गरेर यात्रुको यात्रा विवरण टिपेर म्यानुअल उडान सुरु गरिएको विमानस्थलस्थित अध्यागमन विभागका प्रमुख वासुदेव घिमिरेले बताए। उनले भने, ‘समस्या समाधानका लागि विभिन्न प्रयासबीच विमानस्थलमा यात्रुको भीड बढ्दै गएपछि यात्रु आक्रोशित र उद्दण्ड देखिएपछि उनीहरूको व्यवस्थापन गर्दै म्यानुअल उडान सुरु गरिएको हो। समस्या समाधानपछि यात्रुको विवरण प्रणालीमा अद्यावधिक गरिएको छ।’
यस्तै, प्राविधिक समस्याका कारण वैदेशिक रोगजार विभाग र विमानस्थलस्थिल भन्सार विभागका कामकारबाहीमा समेत समस्या पुगेको थियो। राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)को सर्भरमा रहेका जीओभी डटकम डटएनपी सरकारी साइटमा यस्तो समस्या देखिएको हो। राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रका सहायक निर्देशक तथा सूचना अधिकारी रमेश पोखरेलले एनआईटीसीको सर्भरमा रहेको फायरवालमा मेमोरी (सीपीयू) एक्कासि बढेको देखिएको जानकारी दिए। उनले प्रारम्भिक अध्ययनबाट साइबर आक्रमण (डीएनएस अट्याक) भएको देखिएको बताए।
‘विस्तृत अध्ययन गर्दा ‘डीएनएस अट्याक’ भएको पुष्टि भएको छ। कहाँबाट यस्तो आक्रमण भएको हो भन्ने विषयको विस्तृत अध्ययन हामी गर्दै छौँ। मल्टिपल ठाउँबाट यस्तो अट्याक (आक्रमण) आएको हो। यस विषयमा आइतबारसम्ममा पत्ता लगाइसक्छौँ,’ उनले भने। प्रारम्भिक अध्ययनबाट एनआईटीसीको सर्भर फायरवाल र डीएनएममा अट्याक्ट देखिएको जानकारी उनले दिए। पोखरेलका अनुसार साइबर आक्रमणबाट सरकारी वेबसाइटका डाटा र सूचनामा भने कुनै हानि भएको छैन।
‘बाहिरबाट हाम्रो सर्भरमा अत्यधिक हिट आएको थियो। सर्भरमा अत्यधिक हिट भएपछि हामीले डाटा सुरक्षाका लागि सर्भर डाउन गरेका हौँ। अहिले अधिकांश साइट सञ्चालनमा आइसकेका छन्। केही साइट अझै चलेका छैनन् भनेर गुनासो आइरहेको छ। हामी ती साइटको समस्या समाधानमा लागिरहेका छौँ,’ उनले भने। बेलामौकामा प्राविधिक समस्या आइरहने र आगामी दिनमा फेरि यस्ता समस्या आउन नदिन प्राविधिक टोली लागिपरेको उनले जानकारी दिए।
शनिबार दिउँसो करिब १२ः३० बजेदेखि अवरुद्ध रहेका सरकारी वेबसाइट करिब साढे चार बजे केही मिनेट सञ्चालनमा आए पनि पुनः अवरुद्ध भएका थिए। त्यसपछि बेलुका करिब साढे पाँच बजेदेखि मात्र जीओभी डटकम डटएनपी वेबसाइट सञ्चालनमा आएका छन्। अधिकांश वेबसाइट सञ्चालनमा आए पनि अहिले पनि केही वेबसाइट भने सञ्चालनमा आउनसकेका छैनन्।































प्रतिक्रिया