काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष बीच आज पनि सहमति जुट्न सकेको छैन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेदेखि गरिएको छलफलमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच गरिएको छलफलमा सहमति जुट्न नसकेको हो ।
आजको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए । पार्टीको विवादलाई हल गर्न सचिवालय बैठक बस्नुपर्ने ओलीले प्रचण्डसँग प्रस्ताव गरेको स्रोतले जनाएको छ । तर, प्रचण्ड र वरिष्ठ नेता खनालले स्थायी कमिटीको बैठक जारी नै रहेकाले स्थायी कमिटीबाटै समाधान खोज्नुपर्ने अडान लिएका थिए । स्थायी कमिटीको बैठक गत असार १० देखि जारी छ ।
ओलीको प्रस्तावलाई ठाडै इन्कार गरेकाले आजको बैठक पनि त्यति सौहार्दपूर्र्ण हुन नसकेको स्रोतका दावी छ । आइतबार पनि दुई अध्यक्ष सहित चार जनाको भेटघाट भएको थियो । तर कुनै ठोस निष्कर्ष भने निस्कन सकेको थिएन् ।





























प्रतिक्रिया