पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको (एन–एएनसी एटीआर) विमान दुर्घटनाको प्रारम्भिक कारणमा पखेटामा समस्या आएको देखिएको छ ।
माघ १ गते पोखरामा दुर्घटना भएको उक्त विमानको ब्ल्याक बक्समा रहेको उडान तथ्याङ्क (फ्लाइट डाटा) विश्लेषणको प्रारम्भिक नतिजाअनुसार दुवै इन्जिनका पखेटामा समस्या आएको पाइएको हो तर यो मानवीय वा प्राविधिक के कारणले हो भन्ने निष्कर्ष भने अझै पत्ता लागेको छैन । दुर्घटना जाँच आयोग २०७९ का सदस्य सचिव बुद्धिसागर लामिछानेले जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलर (ब्लेड)हरू फेदर (छड्के नभई सिधा) अवस्थामै रहेको देखिएको बताए ।
इन्जिनका प्रोपेलरहरू फेदर हुनु भनेको इन्जिनमा पावर कम हुनु हो । यस्तो अवस्थाा इन्जिनले पावर दिए पनि जहाज अघि बढ्ने वा तलमाथि नहुने अवस्थालाई बुझ्ने गरिन्छ । फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको सिङ्गापुरमा अध्ययन अनुसन्धान गरिएको हो। त्यस कार्यमा आयोगको नेतृत्वमा ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरो (टीएसआईबी) सिङ्गापुर, टीएसबी क्यानडा, पी एन्ड डब्लू क्यानडा र ईएएसएका प्रतिनिधिहरू संलग्नतामा विभिन्न प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ।
गत साता गरिएको डाटा विश्लेषण तथा अनुसन्धान गर्दा दुवै इन्जिनमा रहेका प्रोपेलर ब्लेड फेदर भएको देखिएको आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। तर त्यो किन भयो भन्ने अध्ययन भइरहेको आयोगले जनाएको छ। त्यसबारे पूर्ण प्रतिवेदन आउन समय लाग्ने जनाउँदै प्रारम्भिक प्रतिवेदन भने चाँडै सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ।































प्रतिक्रिया