देवानगन्जमा सुरक्षाकर्मीद्वारा घातक हतियार प्रयोग गरेको आरोप, निष्पक्ष छानविनको माग

देवानगन्जमा सुरक्षाकर्मीद्वारा घातक हतियार प्रयोग गरेको आरोप, निष्पक्ष छानविनको माग

केन्द्रबिन्दु
24
Shares

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले घातक हतियारसहित अत्यधिक बल प्रयोग गरेको पाइएको छन्। आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर देवानगन्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने ९ जना स्थानीय घाइते भएका छन्।

पेटमा गोली लागेर गम्भीर भएका मेहताको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मेहता स्थानीय किसान हुन्। परिवारका जेठो छोरो मेहताले गत फागुनमा मात्र विवाह गरेका थिए।

प्रहरीतर्फ नेपाल प्रहरीका आठ र सशस्त्र प्रहरीका पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काले बताए। आइतबार राति करिब १० बजेतिर बोलबम यात्रामा सहभागीहरू डीजे बजाउँदै कप्तानगन्ज चोकबाट अगाडि बढेका थिए। त्यही बेला चर्को आवाजमा डीजे बजाएको भन्दै अर्को समुदायका व्यक्तिले आपत्ति जनाएका थिए।

‘त्यतिबेला भनाभन र ठेलमठेल भएपछि प्रहरी टोली पुगेर दुवै पक्षलाई सम्झाउने कोसिस गर्‍यो,’ उनले भने, ‘प्रहरी चौकी कप्तानगन्जबाट खटिएको टोलीले दुवै पक्षसँग कुरा गर्न खोज्दा थप मानिस आए, भीडमा रहेका केही व्यक्ति चिर्पट, ढुंगा, बाँस, लाठी र भालाजस्ता सामग्री बोकेर आएका थिए।’ त्यसक्रममा इलाका प्रहरी कार्यालय देवानगन्जका प्रहरी निरीक्षक राकेश राईसहित आठ जना प्रहरी घाइते भएको उनको भनाइ छ।

प्रशासनका अनुसार, सशस्त्र प्रहरीको टोली पुग्नु केही समयअघि मात्र तनावग्रस्त क्षेत्रमा एक्कासि बिजुली काटिएको थियो। त्यसबारे समेत अनुसन्धान गर्न गृह मन्त्रालयले बनाएको सहसचिव भूपेन्द्र थापा नेतृत्वको ५ सदस्यीय छानबिन समितिमा नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई समेत सदस्य बनाइएको छ।

प्रत्यक्षदर्शी जुगेश दासले सुरक्षाकर्मीले राति अन्धकारमा अन्धाधुन्ध गोली चलाएको बताएका छन्। ‘सुरुमा अवस्था त्यति साह्रो बिग्रिएको थिएन, वादविवाद हुँदै थियो,’ उनले कान्तिपुरसँग भने, ‘तर एक्कासि भटटट गोलीका आवाज आए, हामीले भागेर ज्यान बचायौं।’

बल तथा हतियार प्रयोगको अन्तर्राष्ट्रिय सिद्धान्तले भीड नियन्त्रणमा ‘गैरघातक’ हतियार मात्र प्रयोग गर्नु भन्छ। स्थानीय प्रशासन ऐन, २०२८ ले शान्तिसुरक्षा कायम हुन नसक्ने अन्तिम विकल्पमा मात्रै सुरक्षाकर्मीले गोली चलाउन सक्ने भनेको छ। गोली चलाउनुपर्ने आवश्यकता भए त्यसअघि भीडलाई स्पष्टसँग चेतावनी दिनुपर्ने भनिएको छ। भीड नियन्त्रणको सिद्धान्तले पनि बल प्रयोग गर्दा संयमता अपनाएर सकेसम्म कम क्षतिमा नियन्त्रण गर्नुपर्ने भनेको छ। तर, स्थानीयवासी प्रशासनले गोली चल्न लागेको छ भनेर चेतावनीसमेत नदिएको बताउँछन्।

स्थानीय प्रशासन ऐनको दफा ६ को उपदफा (ख) मा ‘भीड हटेन र गोली चलाउनुपर्ने नै भयो भने घुँडामुनि पारी गोली चलाउनका लागि आदेश लेखी सही गरेर दिने’ भनिएको छ। तर सुनसरीमा अधिकांशको घुँडाभन्दा माथि गोली लागेको छ । सुनसरीका डीएसपी खड्काले घाइतेमध्ये जयप्रकाश मेहताको पेटमा, मिथलेश यादव र मिथलेश मेहताको बायाँ कोखमा, अमलेश मेहताको बायाँ काँधमा, अमितकुमार यादवको बायाँ हात र कोखमा, रवीन्द्र मेहताको बायाँ तिघ्रामा गोली लागेको बताएका छन्।

अर्का घाइते अमितकुमार यादवको कम्मरमा, सुनीलकुमार मेहताको बायाँ घुँडामा तथा सुनीलकुमार मेहताको बायाँ कुहिनामा गोली लागेको छ। उनीहरूको उपचार विराटनगरस्थित न्युरो र नोबेल अस्पतालमा भइरहेको डीएसपी खड्काले बताए। घाइतेमध्ये जयप्रकाश मेहता र रवीन्द्र मेहताको अवस्था गम्भीर रहेको छ।

सुरक्षा निकायले भीड नियन्त्रणका लागि अपनाउने तरिका विगतदेखि नै ‘एकदमै आपराधिक मानसिकता’ बाट प्रेरित रहेको राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी बताउँछिन्। ‘कसरी कम क्षतिमा समस्या समाधान गर्न सकिन्छ भन्नेतिर उनीहरूको ध्यानै भएन, सुनसरीमा पनि त्यही दोहोरियो,’ उनी भन्छिन्, ‘मैले सुनसरीमा भएको ठाउँका एक जना स्थानीयसँग पनि कुरा गरें, उहाँले प्रहरीले आउनेबित्तिकै फायर खोलेको बताउनुभयो, सम्झाउन अधिकतम प्रयास गर्नुपर्ने हो तर त्यसमा ध्यान दिएको देखिँदैन।’

प्रहरी अधिकृतहरूचाहिँ चरणबद्ध रूपमा लाठीचार्ज, अश्रुग्यास र हवाई फायर गरे पनि अवस्था नियन्त्रणबाहिर गएपछि गोली चलाउन बाध्य भएको दाबी गर्छन्। सुरक्षा मामिला विज्ञहरू सुनसरी घटनामा समन्वय र कमान्डमा समेत समस्या देखिएको बताउँछन्। किनकि, यो घटना हुँदा कोशी प्रदेश प्रहरी कार्यालयसहित सुनसरी प्रहरी र सशस्त्र प्रहरी बलको जिल्लास्थित कार्यालय नेतृत्वविहीन थियो। नेपाल प्रहरीका जिल्ला प्रमुख एसपी केशवकुमार थेबे तीन दिनदेखि बिदामा रहेकाले डीएसपी चन्द्र खड्काले निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका थिए।

सुनसरीस्थित सशस्त्र प्रहरी गणका गणपति (एसपी) श्याम कार्कीलाई तस्करी नियन्त्रण प्रभावकारी नभएको भन्दै काठमाडौं तानिएको दुई साता भइसकेको छ। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे पनि बिदामा रहेकाले प्रदेशको सुरक्षा कमान्ड निमित्त अधिकारीमार्फत सञ्चालन भइरहेको थियो। त्यस्तोमा घटनापछि कोशी प्रदेश प्रहरी कार्यालयबाट एसपी नारायण चिमरिया र एसपी सुमन तिम्सिना सुनसरी पुगेर समन्वयमा खटिएका थिए भने घटनास्थलको कमान्ड इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले गरेका थिए। नेपाल प्रहरीका पूर्वडीआईजी उत्तमकुमार कार्की सबै सुरक्षा संयन्त्रहरू निमित्तका भरमा चलेका बेला आइपर्ने परिस्थितिमा तत्काल लिनुपर्ने निर्णय, समन्वय र अतिरिक्त टोली परिचालनमा ढिलाइ हुने बताउँछन्।

‘सदरमुकामबाट नजिकै रहेको र अरू बेला पनि तनाव भइरहने ठाउँमा परिपक्व कमान्ड जरुरी हुन्थ्यो,’ उनले भने, ‘तर, चुक भएको देखिन्छ।’ गृह मन्त्रालयले पनि कमजोरी भएको महसुस गर्दै प्रदेश प्रहरी प्रमुखसहित सुरक्षा नेतृत्व परिवर्तन गरेको छ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको ठाउँमा ईश्वरीप्रसाद अर्याल खटिएका छन् भने कोशी प्रदेश प्रहरी प्रमुखमा डीआईजी शेखर खनाल पठाइएका छन्। सुनसरी प्रहरी प्रमुखमा एसपी पुष्पराज मल्ल खटिएका छन्। सशस्त्र प्रहरी बल नेपाल कप्तानगन्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ।

राति गोली चलेपछि सोमबार दिनभर देवानगन्जको अवस्था तनावपूर्ण बन्यो। परिस्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्युसमेत लगाएको छ। सुनसरीमा भएको तनावले जनकपुर, विराटनगर र राजविराजमा समेत विरोध प्रदर्शन भएको छ। सोमबार देवानगन्जमा तीन वटा मोटरसाइकल, केही पसल तथा अन्य सम्पत्तिमा आगजनी र तोडफोड भयो।

जिल्ला प्रशासन कार्यालयले देवानगन्ज र हरिनगरका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गर्‍यो। ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरियो। कर्फ्युका बाबजुद देवानगन्जमा प्रदर्शन भयो भने इनरुवा र लौकहीमा पनि विरोध प्रदर्शन भए। त्यसपछि नेपाली सेनाले सोमबार दिउँसो १ बजेदेखि बख्तरबन्द गाडीसहित गस्ती गरिरहेको छ।

प्रशासनले घटनाको १५ घण्टापछि सोमबार दिउँसो सर्वदलीय बैठक बोलाएर दुवै समुदायका अगुवा र स्थानीयसँग संवाद गरेको छ। दुवै पक्षले संयमता अपनाउने सहमति गरेका छन्। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सबै पक्षलाई संयमित रहन, अफवाहमा विश्वास नगर्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरिएको बताएका छन्।

सुनसरीका मानवअधिकारकर्मी रमेश भट्टराई सामान्य विवाद एक्कासि हिंसात्मक झडपमा परिणत भएको भन्दै यसमा गम्भीर छानबिन हुनुपर्ने बताए। ‘प्रहरीले अपनाएको बल प्रयोग कानुनी मापदण्डअनुसार थियो कि थिएन? संवेदनशील सीमावर्ती जिल्लामा सुरक्षा नेतृत्वको रिक्तताले निर्णय प्रक्रियामा कुनै असर पार्‍यो कि पारेन?,’ उनले प्रश्न गर्दै भने, ‘यो विषयमा गम्भीर छानबिन हुनुपर्छ।’

Logo