खेतान ग्रुपले कार्ल्सबर्गको सेयर करिब एक खर्ब रूपैयाँमा बेच्दै

खेतान ग्रुपले कार्ल्सबर्गको सेयर करिब एक खर्ब रूपैयाँमा बेच्दै

केन्द्रबिन्दु
0
Shares

खेतान समूहले कार्ल्सबर्गलाई नेपालको गोर्खा ब्रुअरी र भारतको कार्ल्सबर्ग इन्डियामा रहेको आफ्नो ३३ प्रतिशत स्वामित्व बिक्रीका लागि प्रस्ताव गरेको छ।

डेनमार्कको कम्पनी कार्ल्सबर्गले खेतान समूहसँग रहेको सेयर खरिद गर्न करिब ७४ करोड ४० लाख अमेरिकी डलर अर्थात करिब ९८ अर्ब रुपैयाँमा यो डिल प्रस्ताव गरेको छ। यो प्रस्ताव अनुसार खरिदबिक्री भएमा कार्ल्सबर्ग डेनमार्कसँग गोर्खा ब्रुअरीमा ९० प्रतिशत र कार्ल्सबर्ग इण्डियामा शतप्रतिशत सेयर हुनेछ। नेपालमा कार्ल्सबर्गको उत्पादन गोर्खा ब्रुअरी कम्पनीले गर्छ। भारतमा कार्ल्सबर्ग इन्डियाले गर्छ। नेपालको ९० प्रतिशत र भारतको शतप्रतिशत स्वामित्व सिंगापुरको कार्ल्सबर्ग साउथ एशिया पीटीई लिमिटेड (सीएसएपीएल)सँग रहेको छ। जसको ६६.७ प्रतिशत सेयर स्वामित्व कार्ल्सबर्ग ग्रुपसँग छ भने ३३.३ प्रतिशत स्वामित्व खेतान ग्रुपका सीपी खेतानसँग छ।

सीपी लामो समयदेखि सिंगापुरमा बसेर व्यवसाय गर्छन्। उनी राजेन्द्र खेतानका भाइ हुन्। नेपालको गोर्खा ब्रुअरीमा खेतान ग्रुपका अध्यक्ष रहेका राजेन्द्र खेतानको १० प्रतिशत सेयर छ। गोर्खा ब्रुअरीमा बाँकी १० प्रतिशत हिस्सा राजेन्द्रकुमार खेतान लगायत तीनजना नेपालीसँग छ। दोस्रो सेयरधनी दिव्यमणि राजभण्डारी हुन् भने तेस्रो सेयरधनी कमलविक्रम सिंह हुन्। राजेन्द्रसँग ९.९५ प्रतिशत र बाँकी ०.५ प्रतिशत अरु दुईजना सेयरधनीसँग छ। अहिलेको घोषणामा राजेन्द्र खेतानको सेयरका विषयमा कुनै पनि जानकारी दिइएको छैन।

सीएसएपीएलएच र कार्ल्सबर्ग समूहबीच सीएसएपीएललाई लिएर लामो समय विवाद भएको थियो। सेयरधनी सम्झौता र गभर्नेन्सका विषयमा भएको विवाद समाधानका लागि सिंगापुरको मध्यस्थता न्यायधिकरण (आर्बिट्रेसन)मा मुद्दा पुगेको थियो । न्यायधिकरणले काल्सबर्गलाई सीएसएपीएलमा खेतान समूहको सेयरहरु कल गर्ने अधिकार दिएको थियो । मुद्दाको सुनुवाईका क्रममा कार्ल्सबर्गलाई ‘कल अप्सन’ (खरिद) र खेतान समूहलाई ‘पुट अप्सन’ (बिक्री) को योजनामा काम गर्न आदेश भएको थियो।

यो आदेशसँगै दुवै पक्षले छुट्टाछुट्टै अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता (भ्यालुएटर्स)हरु नियुक्त गरेका थिए। दुईवटा मूल्यांकनकर्ताले निकालेको मूल्यांकनको साधारण औसत ७४ करोड ४० लाख अमेरिकी डलर (९८ अर्ब ६५ करोड रुपैयाँ) तय गरिएको थियो। पुट अप्सन लिएको खेतान समूहले यही औसत मूल्यमा आफ्नो सेयर बिक्रीका लागि औपचारिक प्रस्ताव राखेको हो। यो प्रस्तावलाई स्वीकार गर्दै कार्ल्सबर्गले यो विषयमा सार्वजनिक जानकारी दिएको हो।

सेयर खरिदबिक्री सन् २०२३ भित्रै सक्ने योजनामा कार्ल्सबर्ग समूह छ। कार्ल्सबर्गले भने सीएसएपीएलएचले तोकेको मूल्यांकनपछि आवश्यक अध्ययन तथा तयारी सुरु गरेको जनाएको छ।

Logo