नामिबियाविरुद्धको नेपालको ऐतिहासिक जित, कुशल र करणको सानदार प्रदर्शन

नामिबियाविरुद्धको नेपालको ऐतिहासिक जित, कुशल र करणको सानदार प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध सानदार जित हात पारेको छ । टीयु क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा नेपालले २ विकेटको जित ऐतिहासिक जित निकालेको हो । 

यो ओडिआई क्रिकेट इतिहासमा नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल हो भने नामिबियालाई लिग टु मा नेपालले हराएको पनि यो पहिलो पटक हो । 

नामिबियाले जितको लागि दिएको २८६ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । नेपाललाई जित दिलाउन ओपनर कुशल भुर्तेलले सानदार शतक प्रहार गरे । उनले ११३ बलमा ११५ रन जोडे । करिअरको पहिलो शतक पूरा गरेका उनी नेपाली ओडिआईमा ओपनरको रुपमा शतक हान्ने पहिलो क्रिकेटरसमेत हुन् । 

साथै कप्तान रोहितकुमार पौडेलले ७२ रनको अर्धशतकिय इंनिङ्स खेले । उनी अन्तर्राष्ट्रिय ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर पनि बने । सन्दीप जोराले २८ रन जोड्दा ज्ञानेन्द्र मल्लले २५ रन बनाए । करण केसीले उत्कृष्ट फिनिसिङ गरे । उनी २० रनमा नटआउट रहे । 

बलिङतर्फ नामिबियाका रुबेन ट्रम्पलम्यान र जेन निकोलले समान ३३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रनको योगफल बनाएको थियो । नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे । १३७ बल खेल्दै उनले पाँच छक्का र नौ चौकाको मद्दतमा १३३ रनको योगदान दिए । त्यसैगरी नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले ५६ जोडे । जेन ग्रिनले ३४ रन बनाए भने जान फ्रिलिङ्कले १३ रन जोडे ।

बलिङतर्फ नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिए भने सन्दिप लामिछानेले तीन विकेट झारे । साथै कुशल मल्ल र सोमपाल कामीले समान १/१ विकेट लिए ।

जितसँगै नेपाल २४ खेलमा ९ मा जित र १४ मा हारका साथ २० अंक जोड्दै छैटौं स्थानमा छ । नेपालले अब दोस्रो खेल शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ । 

Skip This
Skip This
Logo