प्रतिनिधिसभाका सांसदहरुले बैंक तथा वित्तीय संस्थाहरुको चर्काे ब्याजका कारण जनता आर्थिक र मानसिक समस्यामा परेका बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले बैंकले चर्को ब्याज लिएर स्थानीयलाई गाउँ नै छोड्नुपर्ने अवस्था आएको बताए । उनले यसको समाधानका लागि सरकारले तत्काल आवश्यक व्यवस्था गर्नुपर्ने माग गरे ।
उनले सुकुम्वासीलाई जग्गा उपलब्ध गराएर जग्गाको मालिक बनाउने काम गर्न, मदन भण्डारी लोकमार्ग निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न र स्वास्थ बीमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न माग गरे ।
नेकपा (एमाले)का सांसद ऋषिकेश पोखरेलले सबैतिरका व्यापार व्यवसाय घाटामा रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले चर्काे ब्याज लिएर नाफा कमाएको टिप्पणी गरे ।
यस्तो अवस्थामा ती बैंक तथा वित्तीय संस्थाहरुलाई अध्ययन गर्ने तथा नियमन गर्ने निकायले प्रभावकारी रुपमा काम गर्नुपर्ने उहाँको भनाइ थियो । कुनै वित्तीय संस्थामा सुरुमा नौ प्रतिशत ब्याजमा ऋण पाइने भए पनि तिर्ने बेलामा १३/१४ प्रतिशत पुग्ने गरेकाले साना र मझौला ऋणीहरु गम्भीर समस्यामा परेको उनले बताए ।
नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले प्राथमिक स्वास्थ्य केन्द्रमा तत्काल विषय विज्ञ चिकित्सकसहितको उचित स्वास्थ्य सेवाको व्यवस्था गर्न माग गरे । उनले बाँदर र अन्य वन्यजन्तुले पाकेको बाली मासेर किसानलाई दुःख दिएको सम्बन्धमा तत्काल सरकारले उचित पहल गर्नुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले जनताले मतदानका समयमा राखेका आशा र भरोसाअनुसार नै जनप्रतिधिले काम गर्नुपर्ने बताए ।































प्रतिक्रिया