उपप्रधान तथा अर्थमन्त्री विष्णु पोडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताएका छन् ।
शनिबार नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको समापन समारोहमा बोल्दै मन्त्री पोडेलले मेलाले देशभरकै उद्यमीहरुलाई आफ्ना उत्पादनको प्रचार प्रसारमा सहयोग पु¥याउने बताए । उनले भने, “देशमै रोजगारी सिर्जना र कृषिजन्य उत्पादनको आधुनिकीकरणमा मेला उपयोगी हुनेछ ।” घरेलु उद्यमी तथा उनीहरुका उत्पादनलाई बजारीकरण गर्ने कार्यमा नेपाल सरकार अर्थ मन्त्रालय सहयोग गर्न सधै तयार रहेको अर्थमन्त्री पौडेलको भनाई थियो ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मेला आयोजना गर्न विभिन्न कठिनाई रहँदा रहँदै पनि उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल तथा उद्यमीहरुको सहयोग गर्ने आश्वासनले मेलाको आयोजना गरिएको बताए । मेलाले देशभरकै उत्पादन प्रवद्र्धनमा सहयोग पु¥याउने उनले बताए । सरकार स्वदेशी उत्पादन तथा बजारीकरणमा सहयोग पु¥याउन गम्भिर भएर लाग्नुपर्ने उनको भनाई थियो ।
स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक फागुन २ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना भएको थियो । मेलामा पाँच करोड रुपियाँ बराबरको कारोबार भएको थियो भने करिब साढे दुई लाखले अवलोकन गरेका थिए ।
महोत्सवमा प्राकृतिक रेशाजन्य उत्पादन, कर्णालीका खाना परिकार तथा स्थानीय मौलिक उत्पादनहरुमा अवलोकनकर्ता तथा उपभोक्ताहरुको आकर्षण देखिएको थियो । प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णालीका मौलिक परिकार (कर्नालीको अन्नी) सेटमा जौको लड्डू, फापरको मः मः,मार्सीको खिर, चिनोको सेल उपभोक्ताहरुले निकै मन पराएको पाइयो ।
यसैगरी, राउटे समुदायले बनाएका काठका सामग्रीहरु, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिएको थियो । कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएको औद्योगिक प्रदर्शनी यस पटक “नेपाल १६औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९” नामबाट आयोजना भएको थियो ।
मुलुकभरका झण्डै छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिविम्वित गर्ने प्रदर्शनीको मुख्य नारा “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मिहनेत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने रहेको थियो । प्रदर्शनीकै अवसरमा बिहीबार महिला उद्यमीहरुका समस्या, चुनौति र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । साथै शुक्रबार पनि उद्यमको लागि नवीकरणीय उर्जा र स्वदेशी वस्तुको प्रवद्र्धन तथा अर्गानिक सर्टिफिकेसन विषयक छुट्टा छुट्टै अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
समापन समारोहमा मेलामा सहभागी उद्यमीहरुमध्येबाट उत्कृष्ट उद्यमीहरुलाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा हिमालयन अर्गानिक गार्डेन माडी, चितवन प्रथम, फरेष्ट हेम्प इण्डस्ट्रिज प्रा.लि.बुढानिलकण्ठ काठमाडौँ द्धितीय, तामाङ्ग झोला तथा राडीपाखी उद्योग जुम्ला तृतीय तथा सान्त्वनातर्फ हिमालय अल्लो तथा सूती कपडा उद्योग संंखुवासभा, मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योग मुस्ताङ्ग, सेमी घरेलु ढाका उद्यौग धनकुटा, कल्पना बेम्बो हाण्डिक्र्याफ्ट ललितपुर रहेका छन् ।
समापन समारोहमा महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, सल्लाहकार वासु गिरी, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, महासचिव डम्बर प्रसाद रेग्मी, काठमाडौं जिल्ला अध्यक्ष पद्यमकुमारी कार्की, केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष रोशनी उपाध्याय, अर्गानिक एसोसिएसनका अध्यक्ष दिपक प्रकाश बाँस्कोटालगायतले सम्बोधन गरेका थिए ।































प्रतिक्रिया