नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले आफूमाथि प्रतिशोध साँधिएको आरोप लगाएका छन् । १८ दिनपछि कैलाली कारागारबाट रिहा भएका उनले सो बताएका हुन् ।
‘१८ दिन जेल बस्दा मैले धेरै कुरा सिकेको छु,’ चौधरीले भने, ‘आज जुन हिसाबले म भित्र आएँ, त्यो त एउटा राजनीतिक प्रतिशोधको हिसाबले भित्र आएको हो जस्तो लागिरहेको छ। यो सानो पार्टी छ, जसरी उठिराछ, त्यसरी नै खुम्चाइदिउँ भन्ने जुन परिपाटी देखियो त्यो नेपालको राजनीतिमा त्यति राम्रो देखिएको छैन।’
साथै उनले कारागारको बसाइ स्मरणीय रहेको बताउँदै रिहा गरेकोमा नेपाल सरकार र राष्ट्रपतिको कार्यालयलाई धन्यवाद समेत दिए ।
गत ४ मंसिरमा भएको निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरीलाई ट्याक्टर जलाएको आरोपमा ९ वैशाख २०७० मा कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।
चौधरीमाथि ३ भदौमा २०६६ मा बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको आरोपमा सो सजाय सुनाइएको थियो । तर, उनी प्रहरीको फरार सूचीमा रहँदै आएका बेला उनी गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । हाल प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा भएपछि उनी रिहा भएका हुन् ।
उनलाई नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले कारगार पुगेर स्वागत गरेकी थिइन् ।





























प्रतिक्रिया