कमजोर बन्दै सत्ता गठबन्धनः के चाहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

कमजोर बन्दै सत्ता गठबन्धनः के चाहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता साझेदार दलबिच खटपट सुरु भएको छ। खासगरी अबको राष्ट्रपति कुन दलको बन्ने भन्ने विषयलाई लिएर दलहरूबिच रस्साकस्सी भइरहेको छ। राष्ट्रपतिकै विषयलाई लिएर सत्ता गठबन्धन भत्किने संकेत समेत देखिएको छ।

मंगलबार पार्टीको विद्यार्थी संगठनको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन भत्किने संकेत गरेका थिए। राष्ट्रपति निर्वाचनलाई लिएर चर्चा चलिरहेकै बेला माओवादीले कांग्रेसलाई सघाउने खबर पनि बाहिरिएको छ। खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको भागमा परेको राष्ट्रपति पद एमालेलाई दिन आनाकानी गरेर विपक्षी दल नेपाली कांग्रेससँग सहकार्य गर्ने संकेत देखाएका छन्।

गत पुस १० गते नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी समेतको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए। प्रतिपक्षी दल नेपाली कांग्रेसको समेत मत पाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषय उठाउँदै आएका छन्। 

निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचनको मिति तय गरिसकेको छ। जसका निम्ति फागुन १३ गते उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ। सोहीअनुसार दलहरू अहिले राष्ट्रपति निर्वाचनमा जुटेका छन्।

विश्वासको मत लिएर संसद् भवनबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषय उठान गरेका थिए। त्यसपछि उनले माघ २३ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। 

पुस १० गते तत्कालीन काँग्रेस नेतृत्वको गठबन्धन भत्किएपछि सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका नेताहरूबिच छलफल भएको थियो। उक्त बैठकमा राष्ट्रपति निर्वाचन केन्द्रित छलफल भएको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ। खासगरी उक्त छलफलमा राष्ट्रिय सहमतिसहितको राष्ट्रपतिको विषयमा छलफल भएको बताइन्छ।

नेताहरूका आ-आफ्नै अडान
राष्ट्रपति उम्मेदवारलाई लिएर नेताहरुको आ-आफ्नै दाबी रहेको छ ।  खासगरी नेताहरूले सम्भावित उम्मेदवारहरूको नामका बारेमा समेत छलफल भइरहेको छ।राष्ट्रिय सहमतिको कुरा गर्दै गर्दा दलहरूले आफ्नो पक्षका सम्भावित उम्मेदवारको नाममा छलफल गरेका हुन्।माओवादीका तर्फबाट बाबुराम भट्टराई, अमिक शेरचन, नन्दबहादुर पुन, दमननाथ ढुङ्गाना, कल्याण श्रेष्ठ लगायतका व्यक्तिहरुको नाममा छलफल चलाएको छ। 

त्यस्तै कांग्रेसले पनि आफ्ना दलबाट सम्भावित नेताहरूको नाममा छलफल चलाएको छ। कांग्रेसमा रामचन्द्र पौडेल, कृष्ण सिटौला र गोपालमान श्रेष्ठको नाम चर्चामा छ। त्यस्तै प्रमुख सत्ता साझेदार दल नेकपा एमालेभित्र पनि धेरै नेताहरूको नाममाथि छलफल भइरहेको छ। एमाले नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरूको नाममा छलफल चल्दै आएको छ। 

प्रचण्डको रणनीतिः एमालेलाई होल्ड, कांग्रेसलाई राष्ट्रपति
गत पुस १० गते कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नेकपा एमालेसँग सत्ता साझेदारी गर्दा राष्ट्रपति र सभामुख एमालेलाई दिने प्रधानमन्त्री प्रचण्डको सहमति थियो। तर, पछिल्ला दिनमा प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने अडान राख्दै आएका छन्। २६ पुसमा कांग्रेसले विश्वासको मत दिएपछि यो अडानसँगै माओवादीले कांग्रेसको साथ लिएर एमालेलाई दबाबमा राख्‍ने रणनीति अपनाउँदै आएको छ। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको विषय उठाएर एमालेसँगको सहकार्यलाई पनि निरन्तरता चाहिरहेको माओवादीकै नेताहरू बताउँछन्। 

एमालेले सत्ता गठबन्धनको भागबन्डामा आफ्नो पार्टीको भागमा परेको राष्ट्रपति पद कुनै पनि हालतमा नगुमाउने पक्षमा छ। यसरी दुबै पक्षको आ-आफ्नै दाबीका कारण राष्ट्रपति निर्वाचन थप पेचिलो बन्दै गएको छ। 

माओवादी उच्च स्रोतका अनुसार प्रचण्ड एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति बनाउने दाउमा पनि छन्। उनी ओलीलाई राष्ट्रपति बनाएर आफू पाँच वर्ष प्रधानमन्त्री हुने र यही बिचमा पार्टी एकता गरेर सर्वोच्च नेता बन्ने रणनीति अपनाउन सक्छन्। तर, यसका लागि एमालेका अध्यक्ष ओली आफै पनि तयार नभएकाले यो त्यति सहज नहुने पनि बताइएको छ । 

पछिल्लो समय प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीले हरेक निर्णय दबाबमा राखेर गराउँदै आएको बताउँदै आएका छन्। उनले माओवादी केन्द्रको बैठकमा ओलीले आफ्नो निर्णय लागू गराउन निरन्तर दबाब दिँदै आएको बताएका थिए। 

ओली पनि प्रधानमन्त्री प्रचण्डलाई दबाबमा राखेर भए पनि राष्ट्रपति लिन चाहन्छन्। सोहीअनुसार अहिले एमालेका सबैजसो नेताहरूले एउटै भाषा बोल्दै आएका छन्। उनीहरूको एउटै साझा भाषा छ ‘यही गठबन्धनको निरन्तरता’। सोही तयारी अन्तर्गत ओलीले पछिल्ला दिनमा माओवादीलाई काँग्रेससँग मिल्न नदिने रणनीतिमा छन्। एमाले उपमहासचिव पृथ्बीसुब्बा गुरुङ पुस १० को सहमतिअनुसार राष्ट्रपति एमालेकै बन्ने र त्यसमा तलमाथि नहुने बताउँछन्। राष्ट्रपतिको निर्वाचनपछि सत्ता गठबन्धन टुट्ने हल्ला हौवा मात्रै भएको बताउँदै सत्ता गठबन्धनबाट एमालेले अगाडि सार्ने उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी उनको छ। सत्ता गठबन्धन तथा दल बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा एमालेलाई स्वीकार्य नहुने समेत नेता गुरुङको भनाइ छ।

नयाँ गठबन्धन बनेर प्रचण्ड नेतृत्वको सरकार बनेयता ओलीले आफ्नो पक्षमा निर्णय गराउन प्रचण्डलाई निरन्तर दबाब दिएको प्रचण्ड स्वयंले बताउँदै आएका छन्।गत माघ तेस्रो साता भएको पार्टीको स्थायी कमिटी बैठकमा समेत माओवादीका नेताहरूले एमालेलाई राष्ट्रपति दिन नहुने धारणा राखेका थिए। 

सहमतिका आधारमा राष्ट्रपति चयन गर्न पहल गर्ने र यदि त्यस्तो नभएमा एमालेलाई भने दिन नहुने अधिकांश स्थायी कमिटी सदस्यहरूको धारणा थियो। सत्ता गठबन्धनको भागबन्डामा राष्ट्रपति र सभामुख दुबै आफूले लिएका ओलीले कुनै पनि बेला अप्ठ्यारो पार्न सक्ने भएकाले त्यसका निम्ति तयारीमा रहनुपर्ने नेताहरूको सुझाव अन्तर्गत नै अहिले प्रचण्डले भूमिका निर्वाह गर्दै आएका छन्।

कांग्रेसलाई राष्ट्रपति दिने सहमति ?
नेपाली कांग्रेस अहिलेको गठबन्धन भत्काउने दाउमा छ। प्रधानमन्त्री र राष्ट्रपति दुवै पद लिने लोभमा एकाएक सबै सत्ता गुमाएको कांग्रेसले पुनः सत्ता फर्काउने दाउमा छ ।केन्द्र सहित प्रदेशको सबै सत्ता गुमाएको कांग्रेसले अहिले राष्ट्रपति भएपनि पाउन सकिन्छ कि भनेर गठबन्धन तोड्ने रणनीतिमा लागिपरेको छ। 

सकभर आफ्नै पार्टीबाट राष्ट्रपति बनाउने त्यो नभए राष्ट्रिय सहमतिको विषय उठान गरेर माओवादीसमेतको सहमतिमा नयाँ व्यक्तिलाई राष्ट्रपति बनाउन चाहन्छ काँग्रेस। त्यसो गर्दा एमालेसहितको गठबन्धन भत्किने सम्भावना हुन्छ। त्यसका लागि पनि प्रचण्ड तयार रहेको माओवादीका नेताहरू बताउँछन्।

राष्ट्रपति एमालेलाई दिएर फेरि चार वर्षका लागि गल्ती गर्न नहुने रणनीति अन्तर्गत प्रचण्ड अहिले काँग्रेससँग पनि समान रुपमा छलफलमा छन्। माओवादी उच्च स्रोतका अनुसार माओवादी र कांग्रेसका उच्च तहका नेताहरूबीच अनौपचारिक सहमति भइसकेको छ। 

एमालेसँगको यो गठबन्धन लामो समयसम्म चल्न नसक्ने सम्भावना रहेकाले प्रचण्डले काँग्रेससँग पुनः सहकार्य गर्न तयार भएको माओवादीका एक नेता बताउँछन्। त्यसो त कांग्रेस महामन्त्री गगन थापाले फागुन १० गतेभित्र गठबन्धन भत्काएरै छाड्ने उद्घोष यसअघि गरिसकेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि मंगलबार अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सत्ता समीकरण फेरिने संकेत गरेका थिए।

यता माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल राष्ट्रिय सहमतिको अडान नछाडेको माओवादीले फागुन १३ गते राष्ट्रपति निर्वाचनको मनोनयनअघि आधिकारिक निर्णय गर्ने बताउँछन्। तर माओवादी अहिलेसम्म पनि राष्ट्रिय सहमतिको पक्षमै रहेको उनको दाबी छ। ‘हामी अहिलेसम्म राष्ट्रिय सहमतिको पक्षमै छौं। कुनै ठोस निर्णय गरेका छैनौं’, उनी भन्छन्, ‘विभिन्न विकल्पबारे छलफलमा छौं। त्यसबारेमा मनोनयनअघि पार्टी पदाधिकारी बैठक बसेर ठोस निर्णय गर्छौं।’

अहिलेको गठबन्धन भत्काउन भरपुर कोसिस गरिरहेको कांग्रेसले गठबन्धन भत्काउन ढोक्सा थापिरहेको कांग्रेस नेता प्रदीप पौडेल बताउँछन्। ‘यहाँ रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ। आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ’, उनले भने ‘आवश्यक पर्‍यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ। त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको भनेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं।’

Skip This
Skip This
Logo