सर्लाहीबाट एक अर्बको तरकारी निकासी

सर्लाहीबाट एक अर्बको तरकारी निकासी

केन्द्रबिन्दु
0
Shares

सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा  एक अर्ब बढीको तरकारी निकासी गरेको छ ।

लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रुपैयाँ आर्जन गरेको समितिका व्यवस्थापक शम्भु घिमिरेले बताए । 

उनका अनुसार आव २०७९÷०८० को साउनमा २० करोड २ लाख, भदौमा  १८ करोड ८५ लाख ५२ हजार, असोजमा  २७ करोड ८० लाख ८३ हजार, कात्तिकमा  ९ करोड ६३ लाख ७८ हजार, मङ्सिरमा  ७ करोड १० लाख ६८ हजार, पुसमा  १७ करोड १५ लाख ८८ हजार र माघमा  २० करोड ९४ लाख ३७ हजार रुपैयाँको हाराहारी रकम सङ्कलन गरेको छ ।

चालु आवको सात महिनामा  १ अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रुपैयाँ सङ्कलन भएको समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए । जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने समितिले जनाएको छ ।अध्यक्ष मगरका अनुसार सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुन्छ ।

लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फूलकोभी, बन्दा कोभी, घिरौँला, सिमी, झिङ्गनी, मूला, हरियो खुर्सानी, बेथुको साग, गाँजर, भिन्डी, परबल, रुख कटहर, फर्सी, धनियाँको पात, कागती,  मटरकोसा, प्याज र भेँडेखुर्सानीलगायतका तरकारी निकासी हुन्छ । 

त्यस्तै, सङ्घीय सरकार मातहत रहेको थोक तरकारी बजारको छ कोठे भवन निर्माणका लागि शिलान्यास गरिएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको ५० लाख ७७ हजार मा सो भवन निर्माण हुनेछ । 

चालु आवको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी समितिले नै भवन निर्माणको काम थालेको अध्यक्ष मगरले जानकारी दिए । लालबन्दी बजारसहित सङ्घ सरकार मातहत ११ वटा बजार रहेका छन् ।

Skip This
Skip This
Logo