हुम्लामा अज्ञात रोगले ५० पशु मरे

हुम्लामा अज्ञात रोगले ५० पशु मरे

केन्द्रबिन्दु
0
Shares

हुम्ला । एक सातादेखि फैलिएको अज्ञात रोगले हुम्लाको चंखेली गाउँपालिकामा ५० पशु मरेका छन् । अचानक पशुवस्तुको छाती सुनिने, घाँस नखाने, ¥याल छोड्ने रोगले अहिलेसम्म छ भैँसी, छ दुहुना गाई र अन्य पशु मरेको चंखेली–२ भट्टेबाडाका वृष धितालले जानकारी दिए । ‘असार २० पछि फैलिएको उक्त रोगले अहिलेसम्म चंखेलीको दार्मा, मिमी, भट्टेबाडालगायत क्षेत्रका कृषकका ५० भन्दा बढी पशुवस्तु मरेको खबर हामीले पाएका छौँ’–धितालले भने ‘अधिकांश पशुवस्तु अहिले जङ्गलतिर खर्क लिने चलनले पनि अन्य मरेका पशु वस्तुको बारेमा यकिन विवरण आउन बाँकी छ ।’

विभिन्न गाउँमा १०० भन्दा बढी पशुवस्तु बिरामी परेका छन् । गाउँपालिकाको पशुशाखामा औषधिका लागि गए पनि कोही पनि पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको छ । असार मसान्त लागेसँगै गाउँपालिकाबाट बाहिरिएका पशु स्वास्थ्यकर्मी गाउँमा नभएपछि बिरामी परेका पशुलाई तत्काल उपचार गर्ने व्यवस्था भएको स्थानीय पदबहादुर सिंहले बताए । ‘गाउँगाउँबाट पशु बिरामी भएको खबर आउने गरेको छ’–सिंहले भने‘औषधिका लागि जाँदा पशु शाखाको ढोका बन्द भएकाले रित्तो हात फर्किनुपरेको छ ।’

पशु स्वास्थ्य कार्यालय हुम्लाले चंखेली गाउँपालिकाका पशुवस्तुमा अज्ञात रोग फैलिएको खबर आएकाले तत्काललै पशु स्वास्थ्यकर्मीलाई औषधिसहित पठाइएको छ । गाउँपालिकाले पशुको औषधि खरिद नगरेकाले जिल्लाबाटै पठाउनुपर्ने हुँदा केही ढिला जस्तो भएको कार्यालय ज्ञानेन्द्र सिंह बुढथापाले बताए। उनले तत्कालै पशु स्वास्थ्यकर्मीको टोली पठाएर पशुमा फैलिएको अज्ञात रोगलाई नियन्त्रण गर्ने काममा लागेको उल्लेख गरे ।–रासस

Skip This
Skip This
Logo