आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले त्रिदेशीय एकदिवसीय शृङ्खलामा सोमबार पपुवा न्यूगिनीलाई ४ विकेटले हराउँदै युएई सिरिजमा विजयी सुरुआत गरेको छ । नेपाललाई एकदिवसीय मान्यता जोगाउन र शीर्ष तीनमा रहन युएई शृङ्खलामा शतप्रतिशत जित निकाल्नु निकै महत्वपूर्ण रहेको छ । युएई भ्रमणको पहिलो खेलमै पपुवान्युगिनी विरुद्ध ४ विकेटको सान्दार जित निकालेको नेपाली क्रिकेट टोलीको मनोबल उच्च बनेको छ ।
नेपालले यसै साता स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिजमा क्लिन स्वीप गरेको थियो । नेपालले क्लिन स्वीप गर्ने क्रममा लिग–२ को च्याम्पियन स्कटल्यान्डमाथि दुबै खेलमा जित हात पारेको थियो । युएईमा पनि सोही नतिजालाई दोहोर्याउने दाउमा रहेको छ नेपाल । ओडीआई क्रिकेटमा पहिलो पटक लगातार पाँच खेल जित्दै विश्वकप छनोट यात्राका लागि एक कदम अघि बढेको नेपाल यसअघि ओडीआईमा लगातार चार खेलमा मात्र जित हात पार्न सफल भएको थियो ।
युएई सिरिजमा नेपाली क्रिकेट टोलीको मुख्य चुनौती भनेको घरेलु मैदानमा देखिएको ब्याटिङको लयलाई कायम राख्नु हुनेछ । सधैँ घरेलु मैदानमा चम्किने नेपालको ब्याटिङले विदेशी भूमिमा सङ्घर्ष गरेको थुप्रै उदाहरणहरु छन् । यद्यपि, मुख्य प्रशिक्षक मोन्टी देसाईले टोली सम्हालेपछि टोलीमा धेरै सकारात्मक परिवर्तनहरु आएको प्रत्यक्ष देखिएको छ । ती सकारात्मक परिवर्तनहरुमा ‘टीम यूनिटी’ र खेलाडीको प्रदर्शन नै मुख्य हुन् । नेपालले टीयू मैदानमा खेलेको चारै खेलमा फरक–फरक खेलाडीहरुले उच्च प्रदर्शन गरेका थिए । टीयू मैदानमा कहिले ओपनर चम्किए त कहिले मध्य क्रमका खेलाडीले इनिङ धाने त्यो पनि धरापमा परेको अवस्थामा तल्लो क्रमका खेलाडीहरूले ‘म्याच विनिङ’ प्रदर्शन गरेका थिए । सोही कारण नेपाल, स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिकोणात्मक ओडीआई सिरिजमा क्लिन स्वीप गर्न सफल भएको थियो । यस्तै नेपालको बलियो पक्ष भनेको बलिङ हो । सोमपाल कामीको फास्ट बलिङ र सन्दीप लामिछानेको स्पिनका अघि पपुवा न्यूगिनी र यूएई निरिह बन्न सक्ने सम्भावना प्रवल देखिएको छ । अर्कोतर्फ सन्दीपले पनि सर्वोच्च अदालतबाट विदेश जान पाउने आदेश पाएपछि नेपाली क्रिकेट टोलीले यूएईमा सन्दीपको साथ पाउने भएको छ ।
घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक ओडिआई सिरिजमा ९ विकेट लिएका सन्दीपले आइसीसीसँग यूएई जान पाउने अनुमति मागेका थिए । आइसीसीले पनि सन्दीपको सो मागलाई सम्बोधन गर्दै मौसम ढकाल घाइते भएको अवस्थालाई नियाल्दै लामिछानेलाई युएई जाने अनुमति दिएको हो । अनुमति पाएसँगै सन्दीपले नेपाली टोलीमा खाली रहेको स्पिन बलिङको अभाव पूरा गरेका छन् ।































प्रतिक्रिया