भूकम्प प्रभावित सिरियामा बालबालिका ‘गम्भीर जोखिम’मा -राष्ट्रसङ्घ

भूकम्प प्रभावित सिरियामा बालबालिका ‘गम्भीर जोखिम’मा -राष्ट्रसङ्घ

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसङ्घीय बाल कोषका प्रमुखले गत महिना गएको भूकम्पबाट प्रभावित युद्धग्रस्त सिरियाका केही भागका ३७ लाख बालबालिकामा गम्भीर जोखिम हुनसक्ने चेतावनी दिएको छ ।

टर्कीमा गत फेब्रुअरी ६ मा गएको भूकम्पमा परी ५० हजारभन्दा बढीको मृत्यु भएको थियो भने सिरियामा करिब छ हजार मानिसको मृत्यु भएको थियो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सिरियामा मात्रै कम्तीमा ८८ लाख मानिस विनाशकारी भूकम्पबाट प्रभावित भएका छन् ।

“सिरियाको प्रभावित क्षेत्रमा रहेका ३७ लाख बालबालिकाले धेरै बढ्दो र सम्भावित विनाशकारी खतराहरूको सामना गरिरहेका छन्,” संयुक्त राष्ट्र सङ्घीय बाल निकाय युनिसेफद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ । 

प्रतिवेदनमा विपद्को भावनात्मक र मनोवैज्ञानिक प्रभावका साथै रोगको बढ्दो जोखिम र ‘करिब १२ वर्षको द्वन्द्वका कारण जोखिममा परेका परिवारका लागि आधारभूत सेवामा पहुँचको अभाव’ उल्लेख गरिएको छ ।

युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले सिरियाको दुईदिने भ्रमण पूरा गरेपछि गरेको पत्रकारहरूसँगको भेटमा भनिन्, “सिरियाका बालबालिकाले अकथनीय त्रास र हृदयविदारक पीडा भोगेका छन् ।”

उनले भनिन्, “भूकम्प र त्यसपछिका पराकम्पनले ‘बालबालिकालाई खेल्ने घर, विद्यालय र स्थानहरू मात्र ध्वस्त पारेन, यसले धेरै जोखिममा रहेका बालबालिका र परिवारहरूको सुरक्षाको भावनालाई पनि चकनाचुर पारेको छ’ ।” 

युनिसेफले सिरियामा भूकम्पबाट प्रभावित २६ लाख बालबालिकासहित ५४ लाख मानिसका लागि तत्काल जीवनरक्षाका लागि सहयोग गर्न १७ करोड २७ लाख अमेरिकी डलर आवश्यक रहेको जनाएको छ ।

“सुरक्षित पानी, स्वास्थ्य सेवा र मनोसामाजिक सहयोग जस्ता अत्यावश्यक सेवाहरूमा पहुँच प्रदान गर्नाले परिवारहरूलाई उनीहरूको जीवनको पुनर्निर्माण गर्न सुरु गर्न मद्दत गर्दछ,” रसेलले भनिन् । 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूचओ)का प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले सिरियाको भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घले सिरियाका भूकम्प पीडितलाई सहयोग गर्न ३९ करोड ७० लाख अमेरिकी डलरको अपिल गरेको छ । तर यो आपतकालिन अवस्थाका लागि आवश्यक पर्ने जति पाउन नसकेको टेड्रोसले बताए । 

सिरियामा पनि गत वर्ष सुरु भएको हैजाको घातक प्रकोप देखिएको छ ।

सन् २०११ यता सिरियामा भएको युद्धमा करिब पाँच लाख मानिसको ज्यान गइसकेको छ भने देशको आधाभन्दा बढी जनसङ्ख्यालाई आफ्नो घर छोड्न बाध्य पारिएको छ । उनीहरूमध्ये धेरैले टर्कीमा शरण लिए, जसमा गत महिना गएको भूकम्पले तहसनहस पारेका क्षेत्रहरू पनि समावेश छन् । -एएफपी 

Skip This
Skip This
Logo