१० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा छौँ -गभर्नर अधिकारी

१० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा छौँ -गभर्नर अधिकारी

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ‘२०४६ साल पछाडी फर्किन खोजेको हो ?’ भन्दै प्रश्न गरेका छन् । 

शुक्रवारदेखि काठमाडौंमा शुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले वि.सं. २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अँगालेको स्मरण गराउँदै अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्ने माग उठेको भन्दै यस्तो प्रश्न गरेका हुन् । उनले आवश्यक स्थानमा राष्ट्र बैंकले नियमन र कडाई गरिरहेको स्पष्ट पारे ।  

उनले अहिले लङ टर्म इन्भेष्टमेण्टका बारेमा सोचिरहेकाले ऋणलाई जथाभावी प्रयोग गर्दा समस्यामा पर्नसक्ने बताए । उनले आवाजबिहीनहरुको र साना लगानीकर्ताहरुको लागि २ करोड भन्दा कम लगानी गर्नेहरुको लागि बेस रेटमा दुई प्रतिशत भन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेको पनि बताए । 

गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताए । उनले नेपाल समान देशको तुलनामा नेपालको अर्थतन्त्र सुधार भइरहेको उल्लेख गरे । पुस मसान्तको डेटा अनुसार नै झन्डै एक खर्बको शोधनान्तर वचत रहेको भन्दै गत सालको पुस मसान्तमा २४१ अर्बको घाटा रहेको उनले स्पष्ट पारे । 

उनले अर्थतन्त्रका वाह्य क्षेत्रको तथ्यांक सुधार भएर गएको बताए । नेपाल अहिले करिव १० अर्ब भन्दा बढी डलरको सञ्चितिमा रहेको भन्दै करिव १० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा रहेको उनले बताए । 

गभर्नर अधिकारीले अर्थतन्त्रका संरचनागत विषयमा धेरै सुधार गर्न जरुरी रहेको बताए । उनले अर्थतन्त्र अहिले सहज स्थितिमा रहेको भन्दै सबैकुरामा नकारत्मक रुपले नहेर्न आग्रह गरे । 

Logo