एसियाली खेलकुदको महिला भलिबलमा नेपाल र जापान एउटै समूहमा

एसियाली खेलकुदको महिला भलिबलमा नेपाल र जापान एउटै समूहमा

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । २० औं एसियाली खेलकुदको महिला भलिबलमा नेपाल आयोजक जापानको समूहमा परेको छ। सेप्टेम्बर १९ देखि ४ अक्टोबरसम्म हुने एसियाडका लागि बिहीबार ‘ड्र’ भएको हो। त्यसअनुसार नेपाल समूह ‘ए’ मा जापान र इन्डोनेसियासँगै परेको हो।

नेपाली महिला भलिबल टोली लगातार दोस्रो पटक एसियाड खेल्न लागेको हो। हाङचाउ एसियाडमा पनि नेपालले भाग लिएको थियो। समूह चरणमा नेपालले दक्षिण कोरिया र भियतनामसँग सोझो सेटमै पराजित भएको थियो। यसपालि नेपाली पुरुष भलिबल टोलीको भने सहभागिता रहने छैन। हाङचाउमा पुरुष टिमले पनि खेलेको थियो।

जापान एसियाडमा महिला भलिबलमा १४ राष्ट्रको सहभागिता छ। त्यसलाई चार समूहमा विभाजन गरिएको छ। विश्व वरीयताको आधारमा एसियाका शीर्ष १४ टोलीभित्र रहँदै नेपालले प्रतियोगितामा स्थान बनाएको हो। हाल नेपाल विश्व वरीयतामा ६८ औं स्थानमा छ। एसियाकै बलियो टोली जापान विश्व वरीयताको छैटौं स्थानमा छ भने इन्डोनेसिया ६० औं वरीयताको टोली हो। जापान साविक उपविजेता पनि हो।

समूह ‘बी’ मा साबिक विजेता चीनसहित काजकिस्तान र फिलिपिन्स, समूह ‘सी’ मा चीनमा कांस्य जितेको थाइल्यान्डसहित चाइनिज ताइपेई, किर्गिस्तान र मंगोलिया तथा समूह ‘डी’ मा भियतनाम, दक्षिण कोरिया, हङकङ र कतार रहेका छन्।

Logo