काठमाडौं । अमेरिकाले सहायता कटौती गरेपछिका धेरै खबर प्रकाशित भएका छन् । तर उक्त निर्णयले जागिर गुमेपछि सहायताकर्मीका रूपमा कार्यरतहरुको विवशताका विवरण कमै प्रकाशित छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एपीले नेपालमा सहायता संस्थामा काम गरेका सहायताकर्मी यौनकर्मीमा परिणत हुन विवश भएको विवरण प्रकाशित गरेको छ ।
अन्तर्राष्ट्रिय दातृ निकाय यूएसएआईडीको सहयोगमा नेपालमा यौनकर्मीलाई परामर्श दिनेहरू जागिर गुमेसँगै यौनधन्दा लाग्न विवश भएको विवरण प्रकाशित भएको हो । समाचार संस्था एपीले उक्त विवरण प्रकाशित गरेको हो ।
रूबी लामा कुनै समय लैङ्गिक तथा यौनिक अल्पसंख्यका साथै सीमान्तकृत समुदायका लागि एचआईभी सम्बन्धी सचेतना फैलाउँथिन् । दातृ निकायको सहयोगमा सञ्चालित परियोजना अन्तर्गत उनले यस्तो काम गर्थिन् ।
गत वर्ष अमेरिकाले अन्तर्राष्ट्रिय सहायतामा ठूलो कटौती गरेसँगै विश्वभर सहायता क्षेत्रमा काम गर्ने २ लाख ८० हजार बढीको जागिर गुम्यो । लामा पनि त्यसकै मारमा परिन् । हिजो उनी राजमार्गका यौनकर्मीहरूलाई स्वास्थ्य सचेतना फैलाउँथिन् । आज उनी आफैँ उक्त असुरक्षित पेसा अँगाल्न विवश छन् ।
मध्ये नेपालको राजमार्गमा चकमन्न अँध्यारो छ । अँध्यारो राजमार्गमा यात्रुबाहक बस, ट्रक तथा अन्य यातायाताका साधनका हेडलाइटले धीपधीप उज्यालो हुन्छ । ट्रक तथा मोटरसाइकलमा हुँइकिने अपरिचितहरू नै उनका ग्राहक हुन् । उनलाई थाहा छ, उनले अँगालेको यो पेसा निकै असुरक्षित छ । तर आफूले विवशताका कारण यो पेसा थालनी गरेको उनी सुनाउँछिन् ।
रुढिवादी सोचले जेलिएको नेपाली समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिका लागि मर्यादित रोजगारीको ढोका सहज छैन । बल्ल बल्ल पाएको जागिर गुमेपछि लामाजस्ता १०० जना यौनिक तथा लैंगिक अल्पसंख्यक सहायताकर्मीहरू जीवन धान्नकै लागि यौनधन्दा धकेलिएको एपीले उल्लेख गरेको छ ।
राजमार्गमा रातको समयमा तीव्र गतिमा सवारी हुँकिएका छन् । तीव्र सवारी र मातेका पुरुषहरुको हल्लाले वातावरण कोलाहलपूर्ण छ । त्यो कोलाहालमा २८ वर्षीया लामा त्रास र आसबीच हिँडिरहेकी छिन् । उनलाई एचआईभी संक्रमणको भन्दा बढी डर ग्राहकबाट हुनसक्ने हिंसाको छ ।
यस्ता हिंसाबाट सुरक्षित गराउन र यौनकर्मीका अधिकार सुरक्षित गर्न हिजो उनले काम गरिन् आज उनी नै त्यसको भयमा छिन् । लामालाई विगतमाझैँ समाजका सीमान्तकृतहरूको सेवामा खटिने भोक अझै छ । तर आफ्नै भोक टार्नका लागि उनी असुरक्षित पेसा अँगाल्न बाध्य भइन् । कुनै समय अरूको सहारा बनेकी उनी आज आफैँ सहाराविहीन भएकी छिन् । यो समय उनको आँसु पुछिदिनका लागि कोही छैन ।
राजमार्गमा रातको ११ बजेको छ । यस समयसम्म उनले दुईजना ग्राहक पाइन् । तीबाट उनले करिब २२ सय रूपैयाँ कमाइन् । उनको खाना र कोठा भाडामा प्रत्येक महिना १२ हजार खर्च हुन्छ ।
मकवापनुरको हेटौँडामा पूर्वसहायताकर्मी प्रिनुसी तामाङ भेटिइन् । उनले पनि उस्तै विवशता सेयर गरिन्। राजमार्ग नजिकैको घरमा लामा र तामाङले विगतका काम गरेको संस्थाको कार्यालय अझै छ । त्यहाँ युएसएआईडीका स्टिकर अझै छ । खाली टेबलमा ल्यापटप छ । उक्त कार्यालय एक संस्थाको हो । त्यस उक्त यौनिक तथा लैंगिक अल्पसंख्यहरुको एचआईभी परीक्षण,परामर्श तथा रोकथाम सेवामा काम गर्थ्यो । जनवरी २०२५ मा ट्रम्पले सहायता कटौती गर्ने निर्णयसँगै उक्त कार्यालय बन्द भयो ।
यूएसएआईडीबाट प्राप्त हुने रक बन्द हुँदा नेपालमा ३५ हजार सहायताकर्मीले जागिर गुमाएको एनजीओ फेडेरेसन नेपालका अध्यक्ष अर्जुन भट्टराई बताउँछन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यकलाई जागिर दिलाउने द ब्लू डाइमन्ड सोसाइटीले प्राप्त गर्ने ८५ प्रतिशत रकम यूएसएआईडीमै निर्भर थियो। उक्त संस्थाबाट वितरण हुने रकमले नेपालका २० स्थानमा क्लिनिक सञ्चालन गरिएको थियो ।
त्यहाँबाट एचआईभी संक्रमितहरूलाई एन्टीरेट्रोभाइरल र संक्रमण रोक्न प्रयोग गरिने प्रेप औषधी वितरण हुँदै आएको थियो । एचआईभी संक्रमणको जोखिम कम गर्न नि:शुल्क परीक्षण, परामर्श र अस्थायी साधन वितरण भइरहेको थियो। सहायता रोकिएसँगै १२ सयभभन्दा बढी लाभग्राही प्रभावित भए । ३५० रोजगार जनशक्तिमध्ये २५० जनाले जागिर गुमाए । यसरी जागिर गुमाएका ३५ देखि ४५ प्रतिशत यौनिक तथा लैंगिक अल्पसंख्यक जनशक्ति यौनधन्दा लाग्न विवश भएको द ब्लू डाइमन्ड सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकाल बताउँछिन् ।
”गैरसरकारी संस्था भन्दा बाहिर कानुनी रुपमा काम गर्नका लागि यौनिक तथा लैंगिक अल्पसंख्यका लागि निकै कठिन छ । त्यसैले आफ्नो रोजगारी गुमाएका मध्ये ३५ देखि ४५ प्रतिशत जनशक्ति यौनधन्दामा लाग्न विवश छन्,”एपीसँग उनले गरेको कुराकानीमा उल्लेख छ ।
यो विवशताले सर्वसाधरण तथा यौनकर्मीमा परिणत पूर्वसहायताकर्मी दुवैमा जोखिम बढाएको मनिषाको भनाइ छ । ”सार्वजनिक स्वास्थ्य संस्था हुनसक्ने दुर्व्यवहार विभेदबाट त्रसित उनीहरुले एन्टीरेट्रोभाइरल प्रयोग गरिरहेका छैनन् । यसले एचआईभी संक्रमणको जोखिम झनै बढाएको छ,” ढकालले भनेकी छिन्,”शक्तिशाली एक राष्ट्रको निर्णयले सेवा प्रभावित हुँदा निर्धाका जीवनका निकै अप्ठेरो परिरहेको छ ।”
ढकाल कार्यरत ब्लू डाइमन्ड सोसाइटीको मुख्यालयमा युएसएआइडीले दिएको सम्मान पत्र छ । यौनिक तथा लैंगिक अल्पसंख्यको जीवन सुरक्षाका लागि योगदान पुर्याएको विवरण त्यसमा उल्लेख छ । उक्त सम्मानपत्रतर्फ फर्किँदै ढकाल भन्छिन्,”जुन संस्थाले जीवन रक्षाको योगदानका लागि सम्मान गर्यो आज त्यही संस्थाकै कारण धेरैको जीवन जोखिममा परेको छ। ट्रम्पको उक्त निर्णका कारण धेरेको ज्यान जाने जोखिम छ ।”
ढकालकोझैँ भय प्रकट गरिरहेका छन् डक्टर सर्वेस शर्मा । एड्स तथा यौनरोग नियन्त्रण राष्ट्रिय केन्द्रका निर्देशक हुन् शर्मा । उनी भन्छन्,”सीमा भनेको मानिसका लागि हो । भाइरसका लागि कुनै सीमा हुँदैन। यस्ता क्षेत्रमा सहायता रोकिँदा त्यसले निम्त्याउने समस्या विकराल हुन्छ । यो नेपालका लागि मात्रै विश्वकै लागि चिन्ताजन विषय हो।”
सहायता रकम रोकिँदा नेपालमा एड्स परीक्षणको संख्या २२ प्रतिशतले घटेको छ । एपीले सहायताकर्मीको जागिर गुमेपछि यौनधन्दामा लागेका १५ जनासँग जोखिमबारे कुराकानी गरेको थियो। उनीहरूले संक्रमणको जोखिम रहे पनि आफूहरू विवश रहेको बताएका छन् ।
जागिर गुमेपछि धेरैले नयाँ अवसर नखोजेका होइनन् । तर आफूहरू यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको थाहा पाएपछि रोजगारदाताले काम नदिएको उनीहरूले बताएका छन् । त्यसपछि यौनधन्दामा लागेहरूमध्ये धेरै ग्राहकसँग असुरक्षित यौनसम्पर्क गरेको र धेरैपटक हिंसा व्यहोरेको अनुभव साझा गरेका छन् ।
आशिका तामाङले १६ वर्षसम्म एचआईभी रोकथाम अभियानमा काम गरिन् । सामाजिक परामर्शमा काम गरेका पुराना स्मृतिमा फर्किँदै उनी अहिले टोलाउँछिन् । हाल हप्तामा एकपटक हिंसा भोग्न उनी बाध्य हुन्छिन् । कुनै समय आफूकहाँ सहयोग आउन माग्नेहरुसँगै उनले ग्राहक खोज्नुपर्ने बाध्यता उनीसँग छ । ”पहिले म उनीहरूलाई दिउँसो भेट्थेँ । आजकाल रातमा भेट्न विवश छु,”उनी भन्छिन् ।
तीक्ष्ण बुद्धिको भए पनि रूबीलाई रोजगारी पा उन निकै कठिन भयो । रूढीवादी र निम्न आय परिवारमा हुर्किएकी उनी स्थानीय बजारमा अण्डा बेच्दै पढेकी थिइन् । लामाले उच्च शिक्षा भने सरकारी छात्रवृत्तिमा पढ्न पाइन् । उनी शिक्षा संकायमा भर्ना भइन् । शिक्षक र सहपाठीहरूको दुर्व्यवहारका कारण उनले पढाइलाई निरन्तरा दिन सकिनन् ।
२०७३ सालमा उनले मुक्तिको अनुभव गरिन् । उनलाई फेन्ड्स हेटौँडा नाम संस्थाले जागिर थियो । लामाले उक्त संस्थामार्फत एचआईभीको जोखिममा रहेकाहरूलाई परामर्श र सेवा दिइन् । छोरीको जागिर बुवालाई चित्त बुझिरहेको थिएन। बुवा उनीसँग रिसाए । जब उनले बुवालाई आफूले जीवन रक्षाको काम गरिरहेको कुरा बुझाइन्, त्यसपछि बुवा खुशी भए । रोजगारीमा बढुवा हुँदै जाँदा उनले मासिक ३० हजारसम्म कमाइन् । उक्त आर्जनका कारण उनी हेटौँडामा कोठा लिएर बस्न सक्षम भएकी थिइन् ।
फेब्रुअरी २०२५ मा उनी कार्यालय पुग्दा उनले जागिर गुमाइसकेकी थिइन्। परियोजनाका संयोजक किरण थापाले सहायता रकम रोकिएका कारण १७ जनाको जागिर गुमेको सुनाए । लामा त्यसपछि अप्ठेरोमा परिन् । घर फर्किने साहस भएन । सहरमा बाँच्न अन्य विकल्प भएन । उनमा मानसिक तनाव बढ्दै गयो ।
उनले सुरुमा स्थानीय सरकारमा जागिरका लागि पहल गरिन् । सुरुमा उनलाई जागिरको आश्वासन दिइयो, अन्तत उनले जागिर पाइनन् । एक होटल व्यवस्थापकले उनलाई जागिर दिए । तर तालिमका क्रममा उनीमाथि यौन दुर्व्यवहार भयो । आम्दानीको स्रोत नभएपछि उनलाई भाडा तिर्न सकस भयो । घरबेटीले निकालिदिने चेतावनी दिए । त्यसपछि उनी यौधन्दामा लाग्न बाध्य भएको बताउँछिन् । ”मसँगै भोकै मर्ने र यौनधन्दा गर्नेबाहेको विकल्प रहेन । त्यसपछि म राजमार्गमा ग्राहक खोज्न थालेँ,” उनले भनेकी छिन् ।
सुरुवाती दुईरात उनले अवलोकन मात्रै गरिन् । त्यसपछि उनले स्थान पहिचान गरेर यौनकर्मीको काम थालिन् । तेस्रो रात साढे ११ बजे उनी राजमार्गमा थिइन् । दुई घण्टापछि एक मानिसले उनलाई जाने प्रस्ताव गरे । एक हजार रूपैयाँ दिने प्रतिबद्धतापछि उनी ग्राहकसँगै मोटरसाइकलमा हुँकिइन् । ती ग्राहकले सात सय रूपैयाँ मात्रै दिए । उनलाई राजमार्गमा एक्लै छोडिदिए । कोठामा फर्किएपछि उनले मुख धोइन् । उनलाई निन्द्रा परेन ।
अँध्यारा गल्ली घना झाडी र निजी कोठाहरू उनीहरूका लागि सुरक्षित छैनन् । जुनसुकै बेला उनीहरू हिंसाको शिकार हुनसक्छन् । ”यो पेसामा लागेका म र मजस्ता साथीहरू हिंसाबाट पीडित छौँ । परामर्शदाताका रूपमा सिकेको कौशलले जोखिम बुझ्ने र बुझाउने क्षमता विकास भएकाले धेरै अवस्थामा खतराबाट बचाइरहेको छ,” उनले भनिन् ।
एक रात लामालाई एक व्यक्तिले घाँटीमा चक्कु तेर्स्याउँदै यौनसम्पर्क नगरे मारिदिने धम्की दिए । उक्त व्यक्तिलाई उनले आफू एचआईभी संक्रमित रहेको बताउँदै आफूसँग यौनसम्पर्क गरे उनी पनि जोखिमा हुने बताइन् । त्यो व्यक्तिले घाँटीबाट चक्कु हटायो । त्यसपछि उनी साथीहरू नआउँदासम्म नजिकैको पेट्रोलपम्पको शौचालयमा लुकेर बसिन् ।
मकवानपुरबाट केही घण्टाको सवारीपछि पुगिन्छ राजधानी काठमाडौं । सुजता चौधरी राजधानीमा यौनकर्मी बनिन् । परमार्श अनुभवका कारण ग्राहकलाई जोखिमबारे उनी सम्झाउँथिन् । कतिले सुन्थे। कतिले वेवास्ता गर्थे । एकपटक उनलाई भिरिंगी भयो ।
एकपटक दुई पुरुषले उनलाई कुकुर छोडिदिने चेतावनी दिए । आफ्नो बोलीको कौशल प्रयोग गर्दै उनीहरूलाई सम्झाइन् । एकरात चिया पसलमा उभिँदै गर्दा प्रहरीले उनीमाथि लछारपछार गर्न थाल्यो । कानुनको ज्ञानका कारण उनले प्रहरीलाई पन्छाउन सफल भइन् । तथापी दुर्व्यवहारबाट बच्न उनी सकिनन् । एक रात चौधरी र उनको साथीलाई दुईजनाले कतै लगे । त्यहाँ १२ अन्य व्यक्तिहरू थिए । ती मध्ये आठजनाले उनी र उनका साथीलाई बलात्कार गरे । अहिले चौधरी ग्राहकले बोलाएको ठाउँमा जादिनन् । तथापी उनले उक्त काम भने छोडेकी छैनन् । उनको परिवार उनमै आश्रित छ ।
बर्षा मगरले १६ वर्ष फ्रेन्ड्स हेटौँडमा काम गरिन् । जागिर गुमेपछि उनी पनि यौनकर्मी बन्न विवश भइन् । एकरात सेनाका दुई जवानले जंगलमा लगेर पेस्तोल तेर्स्याउँदै उनलाई बलात्कार गरे । त्यो त्रासदीको दुईहप्तासम्म उनी सडकमा आउन सकिनन् । एपीमा प्रकाशित सामग्रीको अनुवाद।




















