वैदेशिक व्यापार बढ्यो, २० खर्ब ९७ अर्ब आयत हुँदा ३ खर्ब १५ अर्बको निर्यात

वैदेशिक व्यापार बढ्यो, २० खर्ब ९७ अर्ब आयत हुँदा ३ खर्ब १५ अर्बको निर्यात

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा २० खर्ब ९७ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात हुँदा ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँको निर्यात भएको छ। यसअनुसार कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा १५.८८ प्रतिशतले वृद्धि भएको भन्सार विभागले बताएको छ।

यस अवधिमा २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँको वैदेशिक व्यापार भएको विभागले जनाएको छ। आयात र निर्यात दुवै बढ्दा वैदेशिक व्यापारले कीर्तिमान कायम गरेको छ।

यसअघि २०७८/७९ मा २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो। त्यस बेला आयात वृद्धि भएकाले वैदेशिक व्यापार बढेको थियो। आर्थिक वर्ष २०८१/८२ मा २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार भएको विभागको तथ्यांक छ। कुल व्यापारमा आयातको हिस्सा ८६.९३ र निर्यातको हिस्सा १३.०७ प्रतिशत छ।

गत आर्थिक वर्षमा समग्र वैदेशिक व्यापारमा वृद्धि भएजस्तै व्यापार घाटासमेत बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा व्यापार घाटा १६ दशमलव ६३ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा मुलुकको व्यापार घाटा बढेर १७ खर्ब ८१ अर्ब आठ करोड पुगेकामा अघिल्लो आर्थिक वर्ष १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ थियो।

आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्षमा आयात १६ दशमलव २० प्रतिशतले बढेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा १८ खर्ब ४ अर्ब १२ करोड बराबरको आयात भएकामा गत आर्थिक वर्षमा २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात १३ दशमलव ८१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको निर्यात भएकामा गत वर्ष ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ बराबर पुगेको विभागको भनाइ छ। यो निर्यात रकम हालसम्मकै उच्च हो।

गत आर्थिक वर्षमा छिमेकी मुलुक भारतबाट मात्रै १२ खर्ब १० अर्ब ६० रुपैयाँ करोड बराबरको वस्तु आयात गरिएको छ। भारतमा २ खर्ब ५८ अर्ब ६५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। यसअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै ९ खर्ब ५१ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रहेको विभागको तथ्यांकले देखाउँछ।

नेपालले चीनबाट ४ खर्ब २५ अर्ब २४ करोड बराबरका वस्तु आयात गरेकामा १ अर्ब ८९ करोड बराबरको वस्तु मात्रै निर्यात गरेको छ। चीनसँग नेपालको व्यापार घाटा ४ खर्ब २३ अर्ब ३५ करोड बराबरको छ। गत आर्थिक वर्षमा सबैभन्दा बढी वीरगन्ज नाकाबाट ९ खर्ब ८६ अर्ब ४३ करोड अर्थात् कुल आयातको ४७ दशमलव शून्य पाँच प्रतिशत बराबरको वस्तु आयात भएको विभागले बताएको छ।

सबैभन्दा बढी आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोनलगायत छन्। १ खर्ब ७२ करोड ४२ लाख रुपैयाँको डिजेल, ९८ अर्ब ८३ लाख रुपैयाँको कच्चा भटमासको तेल, ७७ अर्ब २६ करोड ५० लाख रुपैयाँको पेट्रोल, ६० अर्ब २८ करोड ६ लाख रुपैयाँको एलपी ग्यास, ५८ अर्ब ५२ करोड रुपैयाँको फलाम तथा स्टिल उद्योगमा प्रयोग हुने अर्धप्रशोधित फलाम र ३६ अर्ब ७९ करोड २७ लाख रुपैयाँको स्मार्टफोन आयात गरिएको विभागको भनाइ छ।

प्रशोधित भटमासको तेल, अलैंची, गलैंचा, प्रशोधित सनफ्लावर तेल, जुटका सामग्री, पाम तेल सबैभन्दा बढी निर्यात भएको छ। १ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँको प्रशोधित भटमासको तेल, १२ अर्ब ६४ करोड ७८ लाखको अलैंची, १० अर्ब ३८ करोड रुपैयाँको गलैंचा, ८ अर्ब ९४ करोड ३३ लाखको सनफ्लावर तेल, ७ अर्ब १४ करोड जुटका सामग्री र ६ अर्ब ६६ करोड रुपैयाँको पाम तेल निर्यात भएको छ।

भैरहवा नाकाबाट ३ खर्ब ४ अर्ब १७ करोड (१४ दशमलव ५१ प्रतिशत), विराटनगरबाट २ खर्ब ४१ अर्ब ९६ करोड रुपैयाँ (११ दशमलव ५४ प्रतिशत) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाकाबाट २ खर्ब ३ अर्ब ५१ करोड रुपैयाँ (९ दशमलव ७१ प्रतिशत) बराबरका वस्तु आयात भएको विभागले बताएको छ।

निर्यातमा पनि वीरगन्ज नाका अग्रस्थानमा छ। यहाँबाट १ खर्ब १४ अर्ब ८५ करोड अर्थात् कुल निर्यातको ३६ दशमलव ४३ प्रतिशत बराबरका वस्तु विदेश निर्यात भएको छ। विराटनगर नाकाबाट ८८ अर्ब ७२ करोड रुपैयाँ (२८ दशमलव १४ प्रतिशत) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाकाबाट ३७ अर्ब ९४ करोड रुपैयाँ (१२ दशमलव शून्य तीन प्रतिशत) बराबरका वस्तु निर्यात भएको विभागको तथ्यांक छ।

Logo