काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी)ले भारत सरकारसँग हुने वार्ता नयाँ दिल्लीस्थित कन्स्टिट्युसन क्लब अफ इन्डियामा गरिने जनाएको छ । पार्टीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासहित आफ्ना सबै माग यथावत् रहेको स्पष्ट पारेको छ ।
सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले सरकारले तटस्थ स्थानमा वार्ता गर्ने आफ्नो प्रस्ताव स्वीकार गरेको भन्दै स्वागत गरेका छन् । उनले भने, “कुनै तटस्थ स्थानमा वार्ता गर्ने हाम्रो प्रस्ताव सरकारले स्वीकार गरेको छ । यसबाट हामी खुसी छौँ । वार्ताका निम्ति कन्स्टिट्युसन क्लब अफ इन्डियालाई छनोट गरिएको छ । सरकार खुला सोचका साथ हामीसँग संवाद गर्न र सडकमा उत्रिएका मानिसको आवाज सुन्न तयार भएको देखिएको छ ।”
दासले सरकारले चाहे दिल्लीको जन्तर–मन्तरमै पनि वार्ता गर्न सकिने अवस्थामा आफूहरूले वैकल्पिक रूपमा तटस्थ स्थानको प्रस्ताव राखेको बताए । उनले भने, “उहाँहरू जन्तर–मन्तर पनि आउन सक्नुहुन्थ्यो । तर, हामीले उहाँहरूसामु अर्को विकल्प राख्यौँ । जन्तर–मन्तर आउन उहाँहरूलाई संकोच हुनसक्छ भन्ने हामीले बुझेका छौँ । हामी बुझ्ने र पढेलेखेका मानिस हौँ, त्यसैले तटस्थ स्थानको प्रस्ताव गरेका हौँ ।”
भारतको चिकित्सा अध्ययन छनोट गर्ने ‘नीट–यूजी’ परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणपछि ककरोच जनता पार्टीका समर्थकले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालगायत विभिन्न माग राख्दै विगत एक महिनाभन्दा बढी समयदेखि जन्तर–मन्तरमा आन्दोलन गरिरहेका छन् ।
यसैबीच, आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै २६ दिनदेखि अनशनमा बसेका सामाजिक अभियन्ता सोनम वाङचुकले बिहीबार आफ्नो सत्याग्रह समाप्त गरिसकेका छन् ।




















