संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताएका छन् ।
शनिवारबाट शुरु भएको तीन महिने पशुपति सरसफाई अभियानको उद्घाटन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् । उनले नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नुपर्ने बताए । उनले पशुपति क्षेत्र सफाईका लागि पशुपति क्षेत्र विकास कोषले योजना बनाएर बुझाउन निर्देशन दिए । उनले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गर्दै आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने बताए । मन्त्री किराँतीले पशुपतिनाथ नै फोहोर राख्ने हो भने देश कहिले सफा गर्छौं भन्दै प्रश्न गरे । उनले सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएको भन्दै समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने पनि बताए । आफू मन्त्री रहेको मन्त्रालय अन्तर्गतक सबै निकायहरुलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले सो अनुसारको काम नभए कारबाही गर्ने चेतावनी मन्त्री किराँतीले दिए ।
सोहि अवसरमा मन्त्री किराँतीले आफैँ कुचो लगाएर र आसपासका क्षेत्रहरुको फोहोर टिपेर पशुपति सरसफाईमा सरिक पनि भए । अबको तीन महिनासम्म हरेक शनिवार ८ बजेदेखि १० बजेसम्म पशुपति सरसफाई अभियान सञ्चालन हुनेछ ।





























प्रतिक्रिया