काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको स्थायी कमिटीको बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा २९ स्थायी कमिटी र दुई आमन्त्रित सदस्यसहितको बैठकले आन्तरिक समस्या समाधानका लागि दुई अध्यक्षबीच संवाद हुनु पर्नेमा जोड दिँदै त्यसको जिम्मेवारीसमेत अध्यक्ष दाहाललाई दिएको हो । अघिल्लो स्थायी कमिटीको बैठकको निरन्तरता अनुसार नै मंगलबार बैठक बसेको र त्यसमा नियमित कार्यसूचीभन्दा पनि पार्टीको आन्तरिक समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची थियो तर त्यसअघि नै प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशन बमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको बैठक स्थगित गरिएको जानकारी दिएका थिए ।
“आजको स्थायी कमिटीको मिति र समय यसअघिको बैठकले निर्णय गरेको थियो । पार्टी अध्यक्ष ओलीले विधि र पद्धति विपरीत स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन”, बैठकपछि प्रवक्ता श्रेष्ठले भने, “यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अध्यक्ष (कमरेड केपी शर्मा) ओलीसँग छलफल गर्न अध्यक्ष प्रचण्डलाई जिम्मा दिने निर्णय गरिएको छ ।”
मंगलबारको बैठकले पार्टी एकतालाई रक्षा गर्न, विधि र पद्धति सङ्गत ढङ्गले पार्टीलाई अगाडि बढाउन र वर्तमान सङ्कटलाई सकारात्मक ढङ्गले निकास दिने गरी योगदान पुर्याउन पार्टीका सबै नेता कार्यकर्ता र सदस्यलाई आफ्नो ठाउँबाट भूमिका खेल्न आह्वान गरेको छ ।
प्रवक्ता श्रेष्ठले बैठकमा स्थायी कमिटीका २९ जना र दुई जना आमन्त्रित सदस्य उपस्थित भएको जानकारी दिए । नेकपाको स्थायी कमिटी ४४ सदस्यीय छ । प्रवक्ता श्रेष्ठले स्थायी कमिटी बैठकलाई विधि विपरीत अध्यक्ष ओलीले स्थगित गर्ने सूचना गरे पछि अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनालले बालुवाटारमा नै ओलीसँग छलफल गरेका बताए ।
छलफलका क्रममा अध्यक्ष दाहाल र वरिष्ठ नेता खनालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई बैठकमा उपस्थित हुनसमेत आग्रह गरेका थिए । प्रवक्ता श्रेष्ठका अनुसार उनीहरुको आग्रहलाई अध्यक्ष ओलीले स्वीकार गरेनन् ।
त्यसपछि बालुवाटारमा नै उपलब्ध स्थायी कमिटीका सदस्यको बैठक बसेको थियो । बैठकले पार्टी एकताको रक्षा गर्न एकताबद्ध भएर निकास दिन अध्यक्ष ओलीसँग छलफल गर्ने र सहमति गर्न प्रयत्न गर्ने जिम्मेवारी अर्का अध्यक्ष दाहाललाई दिने निर्णय गरेको थियो ।
पार्टी एकतालाई जोगाउन नेतृत्वका तहमा छलफल गर्ने र सकेसम्म निकास दिने जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने, “ठूलो उद्देश्यका साथ धेरै ठूलो मेहनत गरेर पार्टी एकता गरिएको हो । पार्टीभित्र सङ्कट र अप्ठ्यारा आएका छन् । अप्ठ्यारो र सङ्कटलाई समाधान गर्न सकिन्छ, धैर्य साथ विवेक पुर्याएर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ ।”
प्रवक्ता श्रेष्ठले अध्यक्ष दाहालले अध्यक्ष ओलीसँग छलफल गर्ने अन्य शीर्ष नेतृत्वले पनि छलफल गरी हरहालतमा पार्टी एकताको रक्षा गर्ने गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिए । उनले केन्द्रीय कमिटीले निर्णय गरे बमोजिमको मितिलाई ध्यान दिई महाधिवेशन तयारी गर्ने गरी अगाडि बढ्नेसमेत जानकारी दिए ।
बहुमतीय प्रक्रियाबाट निर्णय गर्नुभन्दा पनि सबै नेताले दिएको सुझावका आधारमा सहमतिमा नै अगाडि बढ्ने आफूहरुको प्रयत्न रहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । “हामी छिटो छिटो हतारमा निर्णय गर्न चाहँदैनौँ, सुझबुझका साथ सहमतिमा निर्णय गर्न चाहन्छौँ”, प्रवक्ता श्रेष्ठले भने, “बहुमत छ भनेर बहुमत र अल्पमत प्रक्रियाबाट छिटो निर्णय गर्नुभन्दा पार्टीको सबै नेताले दिएको सुझावका आधारमा सहमतिपूर्ण निर्णय गरौँ भन्ने प्रयत्न नै सही छ ।”
कहिलेसम्म निर्णय होला त भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता श्रेष्ठले भने, “अहिल्यै मिति त किटान गर्न सकिँदैन । बैठकको मिति त निर्धारण भएको छैन । अध्यक्षद्वयबीच छलफल हुन्छ । हाम्रो पनि ओली र अरु कमरेडसँग छलफल हुन्छ । त्यसपछि बैठकको समय निर्धारण हुन्छ ।” उनले आफूहरु सहमतिमा नै छिटोभन्दा छिटो बैठक गर्न प्रतिबद्ध रहेको र शीघ्र निष्कर्षमा पुर्याइने जानकारी दिए। बैठकमा अध्यक्ष दाहालले कोही कसैले पनि उत्तेजनामा नआउन र पार्टी एकताको पक्षमा दृढताका साथ उभिन निर्देशन दिएका थिए । पार्टीमा देखिएको समस्या समाधानका लागि पहल र प्रयत्न भइरहेको भन्दै उनले संयमित हुनसमेत आग्रह गरेका थिए । स्थायी कमिटीको अर्को बैठक सहमतिका आधारमा तय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।रासस































प्रतिक्रिया