‘६७ वर्षपछि कांग्रेससँग नाता जोड्न पाएँ, खुशी छु’ : सुनिल थापा (भिडियाेसहित)

‘६७ वर्षपछि कांग्रेससँग नाता जोड्न पाएँ, खुशी छु’ : सुनिल थापा (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढिकरणका लागि लोकतान्त्रिक शक्तिहरु एक हुन जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापासहितलाई पार्टी प्रवेश गराउँदै सभापति देउवाले प्रजातन्त्रलाई डरलाग्दो अवस्थाबाट माथि उठाउन लोकतान्त्रिक शक्तिहरु एकजुट हुनु आवश्यक रहेको बताए । प्रजातन्त्र विरोधी शक्तिहरु सरकारमा रहेको उल्लेख गर्दै उनले सरकारका कारण प्रजातन्त्रमाथि संकट आउने अवस्था आएको बताए ।

प्रेस स्वतन्त्रता कमजोर पार्ने, फोन ट्यापिङ गर्न पाउने विधेयकहरु ल्याएर सरकारले ‘प्राइभेट कुरा गर्न नसकिने अवस्था’ आएको उनले बताए । सभापति देउवाले थापालाई अहिले सहमहामन्त्रीको जिम्मेवारी दिइएको जानकारी गराउँदै पार्टीमा कुनै प्रकारको भेदभाव नहुने बताए । थापा लगायतका नेताहरुको प्रवेशले पार्टी बलियो बनाउने विश्वास देउवाले गरे ।

पार्टी प्रवेश कार्यक्रममा थापाले वि.सं. २०१० सालबाट नाता टुटेको कांग्रेससँग ६७ वर्षपछि जोड्न पाएकोमा आफूलाई खुसी लागेको बताए । उनले भने, ‘‘२०१० देखि कांग्रेससँगको म र मेरो परिवारको नाता टुटेको थियो । मेरो बुवा स्व. सूर्यबहादुर थापा २००८ मा कांग्रेसको कोषध्यक्ष हुनुहुन्थ्यो विराटनगरमा । २०१० सालमा धनकुटाको सभापति पनि हुनुभयो । आज झण्डै ६६/६७ वर्षपछि नाता जोड्न पाएँ ।’’ थापाले राप्रपाले संविधान निर्माण हुँदा गरेको वाचा तोडेका कारण लोकतान्त्रिक मार्ग लिन कांग्रेसमा प्रवेश गरेको पनि बताए ।

गत शनिबार राप्रपा परित्याग गरेका थापासहितका नेताहरु आज कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमकाबीच सभापति देउवाले उनीहरुलाई पार्टी प्रवेश गराए । नेता रामचन्द्र पौडेलले पार्टीमा प्रवेश गरेका थापासहितका नेताहरुलाई माला लगाइदिएका थिए । देउवाले सदस्यता प्रदान गरेका थिए ।

पूरा भिडियाे:

 

Skip This
Skip This
Logo