काठमाडौं ।
सरकारले ब्यापार घाटा न्युनिकरण गर्न महँगा र लक्जरी सवारी साधन आयातलाई निरुत्साहन गरेपछि सवारी खरिदको अवस्था दयनीय बन्दै गएको छ ।
महँगा गाडीलाई विलासिताका बस्तु मान्दै सरकारले ५० हजार अमेरिकी डलरमाथिका गाडीको आयातमा रोक लगाएपछि गाडीको आयात खस्किएको हो । त्यस्तै, सरकारले गाडीमा बैंक लगानीमा पनि उस्तै कडाई गरेको छ । नेपाल राष्ट्र बैंकले गाडी खरिदमा ५० प्रतिशत डाउन पेमेन्टको व्यवस्था गरेको छ । अटो मोबाइल्स व्यवसायीहरुले राष्ट्र बैंकले तोकेको सो सीमा घटाउन समेत सुझाव दिएका थिए । तर सरकारको नीति अनुसार राष्ट्र बैंकले सो सुझावलाई समेटेन । भन्सार विभागको गत आर्थिक वर्षको सवारी आयातको तथ्यांक हेर्ने हो भने ४६ प्रतिशतले घटेको अवस्था छ । विभागका अनुसार गत वर्ष चारपाङ्ग्रे सवारी साधनको आयात झन्डै ४६ प्रतिशतले घटेको देखिएको हो ।
आर्थिक वर्ष २०७५/७६ मा नौ वर्गका कुल ४१ हजार भन्दा बढी चारपाङ्ग्रे सवारीसाधन नेपाल भित्रिएका थिए । गतवर्ष यो २२ हजारको हाराहारीमा मात्र आएको विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार हजार सीसीसम्मका गाडीको आयात ५० प्रतिशतभन्दा धेरैले घटेको देखिएको छ । त्यस्तै, १५ सय सीसीसम्मका गाडी पनि अघिल्लो वर्षको भन्दा करीब साढे १८ सय कम भित्रिएको छ । गत वर्ष १५ सय सीसीसम्मका चारपाङ्ग्रे सवारी आयातमा ३ अर्ब ४५ करोड विदेशिएको थियो ।
त्यस्तै, मोटरसाइकल आयात उस्तै घटेको छ । विभागका अनुसार मोटर साइकलको आयात १२.२१ प्रतिशतले घटेको हो । विभिन्न इन्जिन क्षमताका कुल एक लाख ८० हजार ३ सय २२ मोटरसाइकल गत आवमा भित्रिएका छन् । अघिल्लो वर्ष यस्तो संख्या २ लाख ५ हजार ४ सय थियो । त्यस्तै, अटो रिक्साको आयातमा पनि उल्लेख्य रुपले घटेको देखिएको छ । अटो रिक्सा साढे ५३ प्रतिशतको हाराहारीमा घटेको देखिएको छ ।





























प्रतिक्रिया