प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । गठबन्धन दलमा मन्त्रालयको सहमति जुटेपछि आजै ३ बजे मन्त्रीहरुको शपथ गराउने प्रधानमन्त्री प्रचण्डको तयारी रहेकाे छ ।
सरकारमा सहभागी हुने ९ दलमा काँग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा एस २, जसपालाई २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भइसकेको छ ।
अहिलेसम्म २ मन्त्रालय पाएको नेकपा एकीकृत समाजवादी पार्टीबाट भौतिक पूर्वाधारमा प्रकाश ज्वाला र कृषि मन्त्रालयमा बेदुराम भुसाल जाने निश्चित भएको पार्टीनिकट स्रोतले बताएकाे छ ।
यसअघि भौतिकमा रहेका नारायणकाजी श्रेष्ठलाई गृह पठाउने तयारी छ । काँग्रेसले रक्षा, अर्थसहितको मन्त्रालय पाउने निश्चित भइसकेको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काँग्रेसबाट ८ जना मन्त्री बन्नेछन् । काँग्रेसबाट उपसभापति धनराज गुरुङ, एनपी साउद, सीता गुरुङ, डिगबहादुर लिम्बू, मोहनबहादुर बस्नेत लगायतको नाम मन्त्री बन्नेको सूचीमा छ। तर, अहिले पनि मन्त्रीबारे छलफल गर्नका लागि नेताहरुको बैठक बसिरहेको देउवा निकट एक नेताले बताए ।
लोसपाका शरदसिं भण्डारी श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन् । जसपाले शिक्षा र वन मन्त्रालय पाएको अध्यक्ष उपेन्द्र यादवले बताए । मन्त्रीमा एकजना अशोक राई टुंगो लागेको छ ।
यस्तै, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ आफैँ सरकारमा जाने तयारीमा छन् । उनी भूमि मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी हुन लागेको जनाइएकाे छ । यस्तै, आमजनता पार्टीका अध्यक्ष प्रभु साह पनि मन्त्री बन्दैछन् । तर, अहिलेसम्म प्रधानमन्त्रीले कुन मन्त्रालय भनेर आफूलाई जानकारी नगराएको उनले बताए । यस्तै, नेसपाबाट महिन्द्र राय यादव सरकारमा जाँदैछन् ।





























प्रतिक्रिया