राजर्षि जनक विश्वविद्यालयमा कर्मचारी र शिक्षकबीचको विवादका कारण विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा पर्ने थालेको छ ।
मधेस प्रदेशको राजर्षि जनक विश्वविद्यालयका कर्मचारी र शिक्षकबीच भएको विवादको कारण अध्ययनरत विद्यार्थीहरुले परीक्षा फारम समेत भर्न नपाउँदा भविष्य अन्योलमा परेको हो। अहिले विश्वविद्यालय आन्दोलनको अखडा बन्दै गएको छ ।
त्यस्तै विश्वविद्यालयमा करिव ११ महिनादेखि उपकुलपति छैनन् भने कर्मचारीको पनि अभाव छ । विश्वविद्यालयको भीसी, रजिष्ट्रार, डीन लगायतका पदाधिकारीहरु नभएको करिव ११ महिना बढी भइसक्यो ।
विश्वविद्यालयमा ११ महिना अघिका प्रायः सबै पदाधिकारीहरु कार्यअवधि पूरा गरेर अवकाश प्राप्त गरिसकेका छन् तर सरकारले अहिलेसम्म पनि नयाँ कर्मचारी नियुक्त गर्न सकेको छैन । विश्वविद्यालयमा कर्मचारी नहुँदा विद्यार्थीहरुले समयमा नै परीक्षामा फर्म भर्न समेत नपाएको विद्यार्थीहरुको गुनासो छ ।
विश्वविद्यालयको बिबिए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी नरेन्द्रकुमार साहले विश्वविद्यायलको व्यववस्थापन कमजोर रहेको बताए । उनले विद्यार्थीहरुलाई परेको समस्या क्याम्पस प्रमुखलाई भन्न समेत अहिलेसम्म प्रमुख समेत नभएको गुनासो गरे । उनले परीक्षाको लागि परीक्षा फर्मको लागि पहल गर्ने समेत कोही नभएको बताए ।
उनले विश्वविद्यालयका कर्मचारी र शिक्षकको विवादका कारण विद्यार्थीको पढाइमा समस्या भएको बताए । उनले विद्यालयमा भर्ना भएको हिसावले हेर्दा अहिले पाँचौ औँ सेमेस्टरको पढाइ हुनुपर्ने भएपनि अहिलेसम्म तेस्रो सेमेस्टरको परीक्षाकै तयारीमा विद्यार्थीहरु रहेको बताए।
त्यस्तै अर्का विद्यार्थी रविकुमार साहले विश्वविद्यालय पदाधिकारी बिहीन हुँदा परीक्षा फारम भर्नसम्म समस्या भएको बताए । उनले बैंकमा परीक्षा दस्तुर बुझाएर पनि परीक्षा फारम कहाँ गएर भर्ने भन्ने कुनै टुङ्गो नभएको बताए । उनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री भएपनि अहिलेसम्म राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान नभएको बताए ।
उनले मधेस प्रदेशका मुख्यमन्त्रीलाई विद्यार्थीहरुले जानकारी दिन जाँदा राजर्षि जनक विश्वविद्यालयको विषयमा जानकारी समेत नभएको बताए । उनले विश्वविद्यालयलाई बचाउनका लागि केन्द्र सरकारले पहल गर्न आवश्यक रहेको बताए ।
विश्वविद्यालयबाट सेवा निवृत्त शैलेन्द्रनारायण मल्लिकले केन्द्र सरकारले विश्वविद्यालयलाई उपेक्षा गर्दा समस्याग्रस्त भएको बताए । सरकारले विश्वविद्यालय स्थापना गरेर पदाधिकारी बिहीन हुँदा समेत मौन बस्नु जायज नभएको बताएका छन् । उनले विश्वविद्यालयको आफ्नो भौतिक संरचना नरहेकाले समेत समस्या बढ्दै गइरहेको बताए ।
उनले विश्वविद्यालयको आफ्नो भौतिक संरचना तयार भइदिए आधाभन्दा बढी समस्या समाधान आफैँ भएर जाने दाबी गरे । उनले विश्वविद्यालय पदाधिकारी र शिक्षकहरु अनुसाशित नहुँदा समस्या भएको बताए । उनले विश्वविद्यालयमा आउने कर्मचारी र शिक्षकहरुले विश्वविद्यालय बचाउने भन्दा पनि महत्वकाक्षा बढी राखेकाले अहिले समस्या आएको बताए ।
राजर्षि जनक विश्व विद्यालयमा बीए एलएलबी, बीबीए, बीसीए, बीएससीआइटी, बीएमएलटी, बीपीएच र एमबीएको पठन पाठन हुँदै आइरहेको छ । जनकपुरधामको रामानन्द चोकमा रहेको विश्वविद्यालयको क्याम्पसमा ५ सय विद्यार्थीहरु अध्ययनरत छन् । विश्वविद्यालयको स्थापना तथा पदाधिकारीहरुको नियुक्तिसँगै त्यहाँको अवस्था अस्तव्यस्त रहेको छ ।
कहिले पेपर कन्ट्रयाक्टमा राखिएका उपप्राध्यापकहरुको आन्दोलन त कहिले विद्यार्थीहरुको आन्दोलनका कारण विश्वविद्यालय शिक्षाको नभई आन्दोलनको केन्द्रमा परिणत हुँदै आइरहेको छ ।
विश्वविद्यालयका उपकुलपति झा २०७८ पुस २६, रजिष्ट्रार यादव २०७८ माघ ७, सेवा अयोगका अध्यक्ष लाभ माघ १० गते सेवा निवृत भएपनि अहिलेसम्म सरकारले नयाँ नियुक्ति गर्न सकेको छैन् ।































प्रतिक्रिया