नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन् ।
एमालेको पक्षमा छैनौं भन्नेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरु बनाएको अध्यक्ष ओलीको जिकीर थियो । उनले सत्तारुढ दलहरु दशतिर फर्केकाले उनीहरुबाट देश बन्नै नसक्ने पनि दोहो-याए ।
आईतबार काठमाडौंमा आयोजित पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले देश बनाउनका लागि एउटा नीति, एउटा विचार, एउटा संगठनले नेतृत्व गर्नुपर्ने तर्क गरे । दश जनाले दशतिर तानेकाले देशको रथ कता जाने भन्ने प्रश्न वर्तमान सरकारमाथि रहेको उनको भनाई थियो ।
उनले एमालेले देशलाई बनाउनका लागि राष्ट्रिय शक्ति निर्माणको अभियानलाई अघि बढाएको दावी समेत गरे ।
उनले भने, ‘एउटा नीतिमा देश चल्नु पर्छ, एउटा विचारमा देश चल्नु पर्छ । एउटा संगठनले नेतृत्व गर्नुपर्छ । दशतिर फर्केका छन । उसले उता डोरी तान्छ, अर्कोले उता डोरी तान्छ । त्यस्ताले कहाँ पु-याउँछन देश ? देशको रथ कता जाने । दश जनताले दशतिर तानेको छ । १० वटा पार्टीले दशतिर तानेको छ । के भन्छ ? बुझेको, सुझेको केही छैन । भवितव्यमा दुई वटा सिट आयो । एमालेका विरुद्ध बोले । मन्त्री भए । जान्नुतान्नु केही पनि पर्दैन । एमालेको पक्षमा म छैन । एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेशन पुग्छ । यस्तो ठाउँमा हामीले देश बनाउने अभिभारा बोकेका छौ भने त्यो गम्भिरता हामीमा हुनु प-यो ।’
अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर देशलाई दक्षिणपन्थी शक्तिहरुले छिन्नभिन्न बनाउने प्रयास गरिरहेको पनि बताए । उनले एमाले एक्लैले बहुमत ल्याएर देश बनाउन चाहेको पार्टीले देशव्यापी रुपमा ग्रासरुट अभियान चलाएको स्पष्ट पारे ।































प्रतिक्रिया