नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले ड्राफ्ट गरिरहेको दूर सञ्चार ऐनका कारण नेपाललाई ५०औं अर्ब रुपैयाँ नोक्सान हुने दाबी गरेका छन् ।
शुक्रवार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो दाबी गरेका हुन् । उनले एनसीएल २५ वर्षपछि सरकारको स्वामित्वमा आउनुपर्ने भएपनि भित्र भित्रै विभिन्न चलखेल गरी सरकारको स्वामित्वमा नआउने काम भइरहेको बताए ।
उनले देशको अर्थतन्त्र धराशायी रहेपनि नेपाललाई श्रीलंका र पाकिस्तान बन्न नदिने प्रतिवद्धता जनाए । उनले नेपालसँग अहिले १० महिनासम्मका लागि पुग्ने सञ्चिति रकम रहेको बताए ।
नेता कोइरालाले पछिल्लो समय राजश्व उठ्न नसक्दा कर्मचारीहरुलाई ऋण खोजेर तलव खुवाउने काम भइरहेको बताए । ‘हामीसँग १० महिनाको लागि आवश्यक सञ्चिति रकम छ । हामीले अन्य कुरा व्यवस्थित गर्न सकेका छैनौँ, राजश्व उठ्दैन, ऋण लिएर कर्मचारीलाई तलव खुवाइरहेका छौँ । अहिले एउटा एक्ट आउँदैछ । ऐन आउने भनेर सुनिरहेका छौँ हामीले । आइसकेको छैन, हामीले संसदमा त सुनेका छैनौँ तर त्यो एक्टले ५० औं अर्ब रुपैयाँ नेपाललाई नोक्सान हुने अवस्था छ । त्यो टेलिकमको कुरा गरेको हो । एनसीएलले २५ वर्षपछि छोड्नुपर्ने, एनसीएलले दिनुपर्ने पैसा के छ ? उसले के बदमासी गरेर मिलाउँदैछ ? यस्ता कुरा भन्नुपर्छ तपाईहरुले ।’ उनले भने ।
नेता कोइरालाले संविधानमा नै श्रम आयोग बनाउनको लागि आफू लडिरहने प्रतिवद्धता जनाए । उनले नेपाली काँग्रेसको विधानमा श्रमीकहरुलाई केन्द्रिय समितिमा ल्याउने र संसदमा श्रमीकहरुको पनि व्यवस्था गर्नसके आफ्नो एउटा सपना पूरा हुने र त्यसका लागि आफू लडिरहेको बताए ।





























प्रतिक्रिया