नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् ।
शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता न्यौपानेले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा (एकीकृत समाजवादी) ले परिचय दिएपनि पहिचान दिन नसकेको आरोप लगाए ।
उनले एकीकृत समाजवादी पार्टी अवसरवादमा लिप्त भएको आरोप लगाए । उनले सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको दाबी गरे ।
उनले भने, ‘सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने, मैले मिति २०७९ माघ २१ र २२ को केन्द्रिय समितिको बैठकमा आफ्नो धारणासहति फरक मत राखेको थिएँ । हालसम्म कुनैपनि छलफल नभएकाले त्यहाँ बसिरहन सकिनँ । यस्तो पार्टीको सदस्य भएर बस्नुभन्दा देशको असल नागरिक भएर बस्ने सोचेँ, भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्वपूर्ण कुरा हो ।’
उनले आफू अब नेकपा एमालेमा नै फर्किने बताउँदै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताए । उनले नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालसमेत सम्मानित पद दिए एमालेमा नै फर्किने मनस्थितिमा रहेको दाबीसमेत गरे ।
नेता न्यौपानेले सांसद भएकाहरूलाई नौ-नौ महिनामा मन्त्री दिने भनेर आश्वासन दिएको भन्दै वर्तमान गठबन्धन ५ वर्ष नजाने दाबी गरे ।































प्रतिक्रिया