अर्जेन्टिनी कप्तान तथा फरवार्ड लियोनेल मेस्सीले एक गोलसँगै असिस्ट प्रदान गरेपछि शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित दर्ता गरेको छ ।
पिएसजीले घरेलु टोली नाइसमाथि २-० को सहज जित हात पारेको हो । एक गाेल डिफेन्डर सर्जियो रामोसकाे नाममा रह्याे ।मेस्सीले पहिलो हाफमा तथा रामोसले दोस्रो हाफमा गोल गर्दै पिएसजीलाई सहज जित दिलाए ।
एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति भएको खेलको २६औँ मिनेटमा मेस्सीको गोलबाट पिएसजीले पहिलो हाफमा १-० को अग्रता लिन सफल भयो । मेस्सीले नुनो मेन्डेसको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछि ७६औँ मिनेटमा डिफेन्डर रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। उनले मेस्सीकै पासमा गोल गर्न सफल भएका थिए। पिएसजीसँगको हारसँगै नाइसको १५औँ खेलमा अपराजित यात्रामा पूर्णविराम लागेको छ । ७ जनवरी २०२३ मा कप डि फ्रान्समा ले पुईसँग १-० ले पराजित भएयता नाइस १४ खेलसम्म अपराजित रहेको थियो । जसमा ८ जित र ६ बराबरीको नतिजा रहेको थियो ।
यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता कायम गरेको छ । पिएसजीको ३० खेलबाट ६९ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको लेन्सको ६३ अंक छ । पराजित नाइस ४५ अंक जोडेर आठौँ स्थानमा रहेकाे छ ।































प्रतिक्रिया